शेरबहादुर देउवाका साला भूषण राणाको दुई घरमा सीआईबीको छापा


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका साला भूषण राणाको घरमा आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले छापा मारेको छ।

ललितपुर महानगरपालिका–४ जावलाखेलमा रहेको राणाको निजी निवास र उनका आमाबुबा बस्ने अर्को घरमा सीआईबीले एकैसाथ छापा हानेको हो। निवर्तमान परराष्ट्र मन्त्री आरजु राणा देउवाका भाइसमेत रहेका भूषण राणाको घरमा प्रहरी पुगे पनि उनी भने त्यतिबेला घरमा उपस्थित थिएनन्। आमाबुबा भने घरमै थिए।

सीआईबीका अधिकारीहरूले दिएको जानकारीअनुसार शङ्कास्पद नगद वा कागजात रहेको गोप्य सूचनाका आधारमा छापा मारिएको हो। छापा मार्ने क्रममा स्थानीय वडाध्यक्षको रोहवरमा प्रहरी टोलीले मुचुल्का समेत उठाएको बताइएको छ।

छापा कसको निर्देशनमा, कुन अनुसन्धानसँग जोडिएको र पक्राउ प्रक्रिया अघि बढ्ने हो वा होइन भन्नेबारे सीआईबीले भने औपचारिक विवरण सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्