नक्कली भुटानी प्रकरण : राजनीतिक दबाबले रोकिएको अनुसन्धान पुनः सुरु


काठमाडौँ । लामो समयदेखि राजनीतिक दबाबका कारण अधुरो छाडिएको नक्कली भुटानी शरणार्थी प्रकरण पुनः उजागर हुने संकेत देखिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को निरीक्षणका क्रममा रोकिएका संवेदनशील अनुसन्धानलाई पुनः अघि बढाउन निर्देशन दिएपछि प्रहरीले फेरि पूरक अनुसन्धान सुरु गरेको हो।

नयाँ अनुसन्धानसँगै शेरबहादुर देउवाका सालो तथा सांसद डा. आरजु राणाका भाइ भूषण राणा पनि फेरि घेरामा परेका छन्। प्रहरी स्रोतका अनुसार उनीसँग यसअघि एक पटक मात्रै बयान लिइएको थियो तर त्यसपछि आएको उच्च राजनीतिक दबाबका कारण अनुसन्धान रोकिएको थियो।

यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध ठगी, किर्ते र सङ्गठित अपराधअन्तर्गत मुद्दा दायर भइसकेको छ। तर, नयाँ अनुसन्धानले अझै ओझेलमा परेका पात्रहरू उजागर हुने अनुमान गरिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा तत्कालीन उच्च तहको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले नै पुष्टि गरेको थियो। त्यही आधारमा २०७९/८० सालमा सिआईबीले अनुसन्धान अघि बढाएको भए पनि त्यसलाई राजनीतिक प्रभावले रोकिएको थियो। हालै मात्र एआईजी मनोजकुमार केसीलाई सिआईबी प्रमुखमा पठाएसँगै अनुसन्धानलाई पुनः तीव्रता दिइएको छ।

प्रतिक्रिया दिनुहोस्