प्रचण्ड : सम्पत्ति छानबिन आयोग गठन होस्, नेताहरूले सम्पत्ति सार्वजनिक गर्न तयार रहनुपर्छ


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने बताएका छन्। साथसाथै सबै नेताले आफ्नो सम्पत्ति पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिएका छन्।

पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संगठनात्मक मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको औँल्याए। उनले पुरानै शैलीले राजनीति र संगठन सञ्चालन गर्न नसकिने बताउँदै नयाँ कार्यविधि, कार्यशैली र व्यवहारमा सुधार गर्नुपर्ने आवश्यकता दोहोर्याए।

उनले माओवादी केन्द्रका सबै तहका नेतृत्व र पदाधिकारीलाई परिवार, सचिवालय र कार्यकर्ताको व्यवस्थापनमा पनि नयाँ अभ्यास सुरु गर्न निर्देशन दिए। जनसामान्यसँगको व्यवहारलाई अझै सरल र जनमुखी बनाउन नेताहरूले खानपान, लवाइ–खवाइदेखि सामाजिक व्यवहारसम्म पुनर्विचार गर्नुपर्नेमा प्रचण्डले जोड दिएका छन्।

बैठकमा उनले के–के परिवर्तन र सुधार गर्न सकिन्छ भन्नेबारे नेताहरूले लिखित सुझावसमेत पेस गर्न निर्देशन दिएका छन्। प्रचण्डले भने, “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ।” उनले सम्पत्ति छानबिन आयोगमार्फत पारदर्शिता कायम गरी जनतामा राजनीतिक नेतृत्वप्रति विश्वास बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्