काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी नेतृत्वबाट सम्मानपूर्वक बिदा दिनुपर्ने प्रस्ताव अघि सारेका छन्।
काठमाडौँमा जारी केन्द्रीय समिति बैठकमा पूरक प्रस्ताव प्रस्तुत गर्दै श्रेष्ठले प्रचण्डले अब वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकामा निरन्तर रहनुपर्ने तर कार्यकारी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताए। उनका अनुसार, जेनजेड विद्रोहात्मक आन्दोलनले दिएको सन्देश, पार्टीभित्र बढ्दो असन्तोष र आउन लागेको निर्वाचनको सन्दर्भमा नयाँ नेतृत्वलाई अघि बढाउनु उपयुक्त हुनेछ।
श्रेष्ठले भने, “अध्यक्ष कमरेडलाई कार्यकारी नेतृत्वबाट बिदा दिनु भनेको उहाँको योगदानको अस्वीकार होइन, बरु सम्मान कायम राख्दै पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिनुपर्ने हो।” उनले प्रचण्डकै सहमति र सहभागितामार्फत नेतृत्व हस्तान्तरण भएमा मात्र संगठन बलियो हुने विश्वास व्यक्त गरे।
तीन दशकदेखि प्रचण्डले प्रमुख नेतृत्व सम्हाल्दै आएको स्मरण गर्दै श्रेष्ठले लामो समयसम्म एकै व्यक्ति शीर्ष पदमा रहिरहँदा नकारात्मक सन्देश जाने बताएका छन्। “पार्टीलाई समयअनुकूल पुनर्गठन गर्न अहिलेबाटै प्रक्रिया सुरु गर्नु अपरिहार्य छ,” उनले जोड दिए।