काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि नियुक्त वैज्ञानिक महावीर पुनले मन्त्री बन्नासाथै असाधारण अपिल गर्दै बधाई-खादा र व्यक्तिगत प्रशंसा अस्वीकार गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले सबैलाई स्पष्ट अनुरोध गर्दै भनेका छन्, “मेरो पहिलो घोषणा – कसैले पनि ‘लौ बधाई छ’ भनेर फोन नगर्नु होला र बधाई दिन खादा-माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आइडिया छ भने मेरो WhatsApp मा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नु होला। यदि कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला।”
पुनको यस असाधारण अपिलले केवल व्यक्तिगत नम्रता मात्र देखाउँदैन, तर शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ठोस सुधार ल्याउने प्रतिबद्धताको पनि संकेत गर्छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनसहित पाँच जनाको नाम मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालय पठाएकी थिइन्। नयाँ मन्त्रीहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा (उद्योग), अतिरिक्त सचिव संगीता कौशल मिश्र (स्वास्थ्य), मदन परियार (कृषि), पत्रकार जगदीश खरेल (सञ्चार) र वैज्ञानिक पुन (शिक्षा, विज्ञान तथा प्रविधि) रहेका छन्। यसअघि नै अन्तरिम मन्त्रिपरिषद्मा रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, भौतिक पूर्वाधार, सहरी विकास तथा जलस्रोत, र कानुनी विज्ञ ओमप्रकाश अर्याल गृह र कानुन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थिए।