‘हामी नेपाल’ संयोजक सुदनलाई रानीबारीदेखि नयाँ बानेश्वरसम्म लखेटियो : आक्रमणको प्रयास भएको दाबी


काठमाडौँ । ‘हामी नेपाल’ का संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । गुरुङका अनुसार आइतबार राति रानीबारीदेखि नयाँ बानेश्वरसम्म उनलाई पछ्याउँदै आएको एक समूहले लखेटेको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “पल्सर बाइकमा रहेका व्यक्तिहरूले लखेट्न थाले, बिच बाटोमै दुईवटा गाडी थपिएर सिनामंगलको गल्ली हुँदै नयाँ बानेश्वरसम्मै पछ्याइयो ।” गुरुङले आफूलाई लक्षित गरी नियोजित रूपमा आक्रमण गर्ने उद्देश्यले पछ्याइएको दाबी गरेका छन् । “उनीहरूको मनसाय प्रष्टै थियो, मलाई शारीरिकरुपमा क्षति पुर्‍याउने,” उनले बताएका छन् ।

यसअघि पनि जेनजी आन्दोलनसँग आबद्ध विभिन्न नेताहरूलाई धम्की र निगरानी भइरहेको आरोप सार्वजनिक भइसकेको छ । तर संयोजक गुरुङमाथि भएको पछिल्लो घटनाले आन्दोलनकारी नेतृत्वमाथि थप सुरक्षा सङ्कट देखाएको टिप्पणी गरिएको छ । गुरुङले सरकार र सम्बन्धित निकायलाई घटना छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्