विप्लवको आपत्ति : ‘विद्रोह जेनजीको, सरकार जेन–एक्सको’


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकार जनअपेक्षा विपरीत भएको भन्दै आपत्ति जनाएका छन् । उनले उक्त सरकारलाई ‘जेनजीको विद्रोहपछि जेन–एक्सको सरकार’ भन्दै आलोचना गरेका छन् ।

आज भिडियो सन्देश जारी गर्दै विप्लवले नागरिकको प्रतीक्षा र आन्दोलनरत शक्तिको भावना विपरीत सरकार गठन भएको टिप्पणी गरे । “विद्रोह जेनजीको, तर सरकार जेन–एक्सको बनेको छ । हाम्रो पार्टी यसप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको छ,” उनले भने ।

उनका अनुसार आन्दोलनरत शक्ति, नागरिक समाज र संघर्षरत राजनीतिक शक्तिको सुझाव विपरीत सर्वपक्षीय अन्तरिम सरकारको मागलाई बेवास्ता गरिएको छ । त्यसैले यस्तो सरकारलाई न राजनीतिक दलले न त जनताले स्वीकार गर्ने उनले दाबी गरे ।

विप्लवले सरकार गठन प्रक्रिया रहस्यमय भएको समेत आरोप लगाए । “कसको दबाब वा इसारामा यो गरियो भन्ने विषय अझै स्पष्ट छैन, तर यसमा गैरदलीय र गैरवामपन्थी सोचले काम गरेको देखिन्छ,” उनले भने । उनले अहिलेको समस्या सरकार वा मन्त्रीमण्डलको मात्र नभई राज्यको संरचना र संविधानकै पुनर्लेखन आवश्यक रहेको निष्कर्ष सुनाए ।

प्रतिक्रिया दिनुहोस्