काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठनलाई आजको अनिवार्य आवश्यकता ठहर गर्दै आफू महामन्त्री पद त्याग्न पनि तयार रहेको बताएका छन्।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा थापाले पार्टीको सङ्गठनात्मक कमजोरी र पुरानो कार्यशैलीले नयाँ पुस्ताको अपेक्षा पूरा गर्न नसकेको भन्दै सुधारको आवश्यकता जोड दिए। उनका अनुसार भ्रष्टाचारमुक्त समाज र राज्य निर्माण गर्न काँग्रेसले सदस्यता, संरचना, नेतृत्व चयन प्रक्रिया र मूल मुद्दामा आमूल सुधार गर्नुपर्नेछ।
‘पार्टीको पुनर्निर्माण आजको अपरिहार्यता हो,’ थापाले भने, ‘अहिले हामीले जे गर्दै आएका छौँ, त्यसले पार्टीलाई बलियो बनाउन सक्दैन। त्यसका लागि हामी सबैले आफूलाई सुधार्नुपर्छ र आवश्यक परे म पनि आफ्नो जिम्मेवारी छोड्न तयार छु।’
थापाले काँग्रेसका सबै तहगत समिति र सदस्यलाई पुनर्गठन अभियानमा सहकार्य गर्न आग्रह गर्दै, युवापुस्ताले उठाएका आवाजलाई आत्मसात् गर्नुपर्ने बताए।
त्यस्तै उनले हाल गठन भइसकेको अन्तरिम सरकारलाई तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्नेमा जोड दिए। काँग्रेस एक जिम्मेवार लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न सहयोग गर्नुपर्ने उनले बताए।
‘सरकारलाई सहयोग गरौँ, तर कतै मुख्य जिम्मेवारीबाट विचलित भयो वा अलमलियो भने खबरदारी गरौँ,’ उनले भने, ‘भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउनु आजको मुख्य राष्ट्रिय जिम्मेवारी हो।’


