जेनजी आन्दोलनका सहिद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने सरकारको निर्णय


काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकलाई शहीद घोषणा गर्दै उनीहरूका परिवारलाई क्षतिपूर्ति स्वरूप १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालका अनुसार क्षतिपूर्ति रकम अर्थ मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहकार्यमा मृतकका परिवारलाई हस्तान्तरण गरिनेछ ।

आन्दोलनका क्रममा देशभर ७२ जनाले ज्यान गुमाएका थिए । सरकारले यसअघि मृतक परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेकोमा हाल थप ५ लाख वृद्धि गर्दै क्षतिपूर्ति १५ लाख कायम गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले शहीद घोषणा र क्षतिपूर्ति व्यवस्था आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मान र परिवारको राहतका लागि गरिएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्