काठमाडौं । आफूलाई जेनजी समूहको नेतृत्वकर्ता बताउँदै आएका ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ ।
रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूसँग वाक्कझ्याक्क गर्ने क्रममा गुरुङमाथि धकेलाधकेल र हातपात भएको हो । वैदेशिक लगानीसँग सम्बन्धित प्रश्नमा विवाद चर्किएपछि घटनाक्रम बढ्दै गएको सहभागीहरूले बताएका छन् ।
‘हामी नेपाल’ संस्थामाथि वैदेशिक लगानी प्रयोगसम्बन्धी विभिन्न शंका उठ्दै आएका छन् । यही विषयलाई लिएर उनी सञ्चारकर्मीहरूसँग असमझदारीमा पुगेका थिए ।
यता, बारबरा फाउन्डेशनले प्रेस विज्ञप्ति जारी गर्दै ‘हामी नेपाल’सँग आर्थिक सम्पर्क नरहेको स्पष्ट पारेको छ । फाउन्डेशनका अनुसार कोभिड महामारीको समयमा मानवीय सहायता पुर्याउने क्रममा संस्थासँग सहकार्य भए पनि त्यसबाहेक कुनै आर्थिक सम्बन्ध नरहेको हो ।
वैदेशिक लगानी र स्रोत व्यवस्थापनमा पारदर्शिता नहुँदा ‘हामी नेपाल’ विवादमा तानिएको हो । केही राजनीतिक समूह र जेनजी आन्दोलनसँग संस्थाको नाम जोडिँदै आएको छ, तर सो विषयमा प्रष्ट जवाफ नआएको भन्दै सञ्चारकर्मीहरूले बारम्बार प्रश्न गरेका थिए ।
फाउन्डेशनले लगाइएका आरोपलाई ‘अनर्गल प्रचार’ भन्दै खारेज गरेको छ भने, सुदन गुरुङको पत्रकार सम्मेलनमै भएको घटना गैर–लोकतान्त्रिक प्रवृत्ति भएको भन्दै कतिपयले आलोचना गरेका छन् ।