विमलद्वारा रु.१ लाख, लक्ष्मणको ११ हजार ५ सय सहयोग : भौतिक पुनः निर्माण आर्थिक संकलन समिति गठन


बेलबारी । बेलबारी नगरपालिका ८ र १० का स्थानीयहरूले शनिवार भौतिक पुनः निर्माण आर्थिक संकलन समिति गठन गरेका छन् । समितिलाई स्थानीय वासी विमल लिम्बुले रु.१ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

शनिवार एब्रियो यूथ क्लबको आयोजनामा बेलबारी ८ र १० का स्थानीय वासीहरूको भेलाले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीबाट क्षति पुगेका सरकारी तथा सामुदायिक संरचना पुनः निर्माण गर्ने उद्देश्यले समिति गठन गरेको हो । समितिको संयोजकमा लक्ष्मण तामाङ रहेका छन् भने नारायण भट्टराई, पङ्कज राजवंशी, देवी प्रसाद ओझा, नारायण बास्तोला र विमल लिम्बु सदस्य रहेका छन् ।

भेलामा लिम्बुले रु.१ लाख सहयोग समितिलाई हस्तान्तरण हुन । साथै समितिका संयोजक लक्ष्मण तामाङले रु.११ हजार ५ सय पनि सहयोग गरेका छन् । अध्यक्ष तामाङले आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका कैदी गाउँ–शहरमा प्रवेश गरेको र नजिकिँदै गरेको चाडपर्वलाई दृष्टिगत गर्दै सम्भावित दुर्घटना रोकथामका लागि समितिले प्रहरीसँग सहकार्य गर्दै काम गर्ने बताएका छन् ।

भेलामा स्थानीयहरूले आन्दोलनको आंशिक समीक्षा गर्दै चुनौतीका विषयमा विमर्श गरेका थिए । स्थानीय शैक्षिक संस्था, सामुदायिक संरचनामा तोडफोड र आगजनीको प्रयास भएकोमा असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक सम्पत्तिलाई कुनै पनि आन्दोलनमा नोक्सान पुर्‍याउन नहुने सुझाव आदान–प्रदान गरिएको थियो । त्यस्तै, जेनजी उमेर समूहका युवाहरूलाई हरेक क्षेत्रमा समान रूपमा सहभागी गराएर स्थानीय विकासलाई अघि बढाउनुपर्ने सुझाव पनि राखिएको थियो ।

भेलाले भौतिक संरचना पुनः निर्माणसँगै सामाजिक सद्भाव, शान्ति र सुरक्षालाई प्राथमिकता दिने निर्णय गरेको छ । स्थानीयवासीको सक्रिय सहभागितामा गठित समितिबाट आन्दोलनपश्चात् बेलबारीको पुनः निर्माण अभियान प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । विशेष गरी बेलबारी–८ र १० का स्थानीयले देखाएको प्रतिबद्धता सिङ्गो बेलबारीका लागि उदाहरण बन्ने उल्लेख गर्दै, आफ्नो ठाउँ पुनः निर्माणमा सबै मिलेर एकजुट हुनुपर्ने स्पष्ट सन्देश पनि भेलाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्