काठमाडौं । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले घुस लिएको अभियोगमा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र शालिग्राम कोइरालाको इजलासले बस्नेतविरुद्धको मुद्दामा दोष प्रमाणित भएको ठहर गर्दै फैसलासहितको अर्को सुनुवाइ १६ असारमा तोकेको हो।
अदालतका अनुसार बस्नेतले सेवा सुविधासँग सम्बन्धित कामका लागि व्यवसायी राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस बापत लिएको पुष्टि भएको छ। यस्तै, उक्त रकमलाई वैधानिक स्रोत देखाएर लुकाउने प्रयोजनसहित प्रयोग गरेको भन्दै उनलाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) अभियोगमा समेत दोषी ठहर गरिएको हो।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगमा बस्नेतले १३ करोड १२ लाख रुपैयाँ अवैध रूपमा लुकाएको ठहर गरेको छ। बस्नेतकी पत्नी उर्मिला बस्नेतविरुद्ध लागेको अभियोगमा भने अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै सफाइ दिएको छ।
अब विशेष अदालतले १६ असारमा बस्ने पेसीमा बस्नेतलाई तोकिने कैद र जरिवानाको सजाय सुनाउनेछ। यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि विशेष अदालतमा दायर गरिएको थियो। अनुसन्धानको क्रममा बस्नेतले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति बैंक खाताबाट नगद कारोबारमार्फत लुकाउने प्रयास गरेको तथ्य फेला परेको थियो।
यो फैसलासँगै सार्वजनिक पदमा रही भ्रष्टाचार गर्नेहरूलाई कानुनी जवाफदेहीतर्फको चेतावनीको रूपमा हेरिएको छ। कानुनी विश्लेषकहरूले यो फैसला सुशासन र पारदर्शितातर्फको सकारात्मक संकेत भएको टिप्पणी गरेका छन्।
 
          

 
                                                             
                        
                    