बेलबारीमा भाद्र ७ गते सम्म लकडाउन थपियो : घरपरिवार भित्र मात्र तिज मनाउन नगरपालिकाको आग्रह


बेलबारी, ३२ साउन । बेलबारी नगरपालिकाले ७ दिनसम्मको लागि लकडाउन थप गरेको छ । आज बसेको नगरपालिकाको बैठकले भाद्र ७ गते सम्मको लागि लकडाउन थप गरेको हो ।

समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिन थाले पछि आज सम्मको लागि गरिएको लकडाउन संक्रमणको उच्च जोखिम बढ्ने देखिए पछि भाद्र ७ गते राती १२ बजे सम्मको लागि थप गरिएको नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जनाएका छन् ।

बैँक तथा वित्तीय संस्थाहरू बिहान ११ बजे देखी दिनको २ बजे सम्म लकडाउनको सर्त पालना गरी खुल्ला हुने बैठकमा निर्णय भएको नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीले बताइन । पराजुलीका अनुसार अस्पताल, औषधी पसल, दुधडेरी, पेट्रोलपम्प, पानीजन्य उद्योग, भेटनरी जस्ता अत्यावश्यक सेवा खुल्ला हुने छ भने बेलबारी क्षेत्रभित्र लाग्ने हाटबजार, यातायातका साधन, पूर्ण रूपमा बन्द हुनेछ ।

बेलबारी नगरपालिकाको कार्यालय र सो अन्तर्गत रहेका वडा कार्यालयको दैनिक प्रशासनिक सेवा बन्द गर्ने बैठकले निर्णय गरेको छ । नगरपालिकाले नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तिजको अवसरमा कुनै पनि किसिमको सार्वजनिक कार्यक्रम आयोजना नगर्ने साथै भिडभाड नगरी घरपरिवार भित्रका सदस्यहरूसँग मात्र चाडपर्व मनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्