म्युजिक भिडियो खेलाउने प्रलोभनमा १५ वर्षीया किशोरी बलात्कृत


काठमाडौं, २९ साउन । म्युजिक भिडियो खेलाउने प्रलोभनमा काठमाडौँको एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकको एक रेष्टुरेन्टमा सो घटना घटेको हो ।

बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भई हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेबिट भनिने सुशील खड्कालाई पक्राउ गरेको छ ।

गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ बियर खुवाएर लट्ठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि राति सोही रेष्टुरेन्टको क्याविनमा राखी जबरजस्ती करणी गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिएका छन् । पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्