धरानको वीपीमा तालाबन्दी गर्न गएका काँग्रेस कार्यकर्ता र प्रहरीबिच तनाव


उनले भिसिको रवैया सुधार नभए उनकै गृहजिल्ला मोरङमा खेदाएर पठाउने पनि उद्घोष गरे । कोभिड १९ अस्पताल तत्काल सञ्चालनमा नल्याएसम्म आन्दोलन जारी रहने पनि उनले बताए ।

तस्बिर : विकास चाम्लिङ राई –

धरान, २८ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली काँग्रेसका कार्यकर्ता र प्रहरीबिच तनाव उत्पन्न भएको थियो । बुधवार वीपीमा उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्ने प्रयास गर्दा काँग्रेसका कार्यकर्ता र प्रहरीबिच तनाव उत्पन्न भएको हो ।

कोभिड महामारीको बेला पदाधिकारीहरू प्रतिष्ठान छोडेर बैठक बस्न काठमाण्डौं गएको र अत्यन्त गैरजिम्मेवार बनेको भन्दै काँग्रेस कार्यकर्ताहरूले तालाबन्दी गर्न गएका थिए । नेवि संघ, तरुण दल र महिला संघका स्थानीय नेतृत्व, कार्यकर्ताहरू धरान १८, बुद्ध चोकबाट नारा लगाउँदै प्रतिष्ठान गएका थिए । उक्त टोलीलाई प्रहरीले प्रतिष्ठानको मेनगेटमा नै रोकेको थियो । प्रहरीले भित्र प्रवेश गर्न रोके पनि जर्बजस्ती युवाहरू प्रतिष्ठान गेटभित्र प्रवेश गर्न सफल भएका थिए ।

प्रहरीले पुनः युवाहरूलाई रोके पछि तालाबन्दी गर्ने कार्यक्रम सफल हुन सकेन । त्यसपछि तरुण, विद्यार्थीहरूले प्रतिष्ठानको मेनगेट भित्रै विरोधसभा गरेर फर्किएका थिए । तरुण दलका धरान नगर अध्यक्ष हिमाल श्रेष्ठले तालाबन्दी गर्ने कार्यक्रम भए पनि प्रहरीले रोकेको कारण विरोध सभा गरेर फर्किएको बताए । उनले सभामा उपकुलपतिको गैरजिम्मेवारीपनले धरानबासीहरुले उपचार सेवा पाउनबाट वञ्चित हुनुपरेको बताए । अहिले पनि संक्रमित धरानका नागरिकहरू घरमा नै बस्न बाध्य भएको भन्दै उनले ३ महिना अघि कोभिड १९ अस्पताल उद्घाटनको नाटक मात्र गरेको आरोप लगाए ।

विद्यार्थी नेता दोर्ची शेर्पाले धरानको गहना वीपी प्रतिष्ठानसँग नयाँ भिसिले खेलवाड गरेकोले आन्दोलन गर्नबाध्य भएको बताए । उनले भिसिको रवैया सुधार नभए उनकै गृहजिल्ला मोरङमा खेदाएर पठाउने पनि उद्घोष गरे । कोभिड १९ अस्पताल तत्काल सञ्चालनमा नल्याएसम्म आन्दोलन जारी रहने पनि उनले बताए । नेवि संघ र तरुण दलले हिजो उपकुलपति कार्यकक्षमा तालाबन्दी गरेका थिए । तर, केही समय पछि प्रहरीले ताला तोडेको थियो । प्रतिष्ठानका पदाधिकारीहरू सिनेट बैठकको लागि काठमाण्डौं गएका छन् । कोरोना संक्रमण बढेको भन्दै आजदेखि प्रतिष्ठानको ओपिडी सेवा पनि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्