गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्त ३७ वर्षीया एक महिला पक्राउ


काठमाडौं, २७ साउन । प्रहरीले काठमाडौँको गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई आज (मंगलबार) सार्वजनिक गरेको छ ।

तीन दिनअघि गोंगबुुमा भएको एक पुरुषको बीभत्स हत्या घटनामा आमा–छोरीको संलग्नता रहेको निष्कर्षमा पुगेको प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको हो । सो आरोपमा प्रहरीले ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई चितवनबाट पक्राउ गरेको जनाएको छ ।

दाङ घर भई काठमाडौँमा बस्दै आएका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल) ले दहीमा पाँच वटा स्लिपिङ ट्याब्लेट खुवाएर लठ्याएपछि हत्या गरेको खुलेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लट्टिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् ।
त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैँले शव व्यवस्थापन गरेको प्रहरीले जानकारी दिएको छ ।

ती महिला विगत ४ वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा आफ्नी एक छोरी र एक छोरासँग बस्दै आएकी थिइन् । ती महिलाका श्रीमान् भने खाडी मुलुकमा रहेको र ठुली छोरीको भने विवाह भइसकेको छ ।

सोमबार बिहान काठमाडौँको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीले हत्यामा थप व्यक्तिको संलग्नताको आशंका गरे पनि कल्पनाले अन्यको संलग्नता नरहेको बयान दिएकी छन् ।

प्रहरी श्रोतका अनुसार आफूमाथि यौन हिंसा भएकाले हत्या गर्न बाध्य भएको उनको बयान छ । ‘आफूमाथि पटक–पटक यौन हिंसा भएपछि सुरुमा अण्डकोषमा हानेँ, पछि खुकुरीले घाँटी र खुट्टा काटेँ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उनलाई उद्धृत गर्दै सुनाए । महिलाले यौन हिंसा भएपछि हत्या गरेको बयान दिए पनि कस्तो खालको यौन हिंसा थियो भन्नु कुरा खुलिसकेको छैन ।

काटिसकेपछि जिउ सुटकेसमा तथा खुट्टा र टाउको जेब्रा झोलामा राखेर छुट्टा छुट्टै स्थानमा फालिएको थियो । शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छन् । हत्यामा प्रयोग भएका दुई वटा खुकुरी र हम्मर प्रहरीले फेला पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्