६ लाख जना भन्दा बढीको पिसिआर जाँच गर्ने : मन्त्री ढकाल


काठमाडौं, २२ साउन । सरकारले कम्तीमा पनि ६ लाख जना भन्दा बढीको पिसिआर जाँच गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरूसँग आयोजित अन्तरक्रियामा घटीमा ६ लाखसम्मको पिसिआर जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन ।

मन्त्री ढकालले भने, ‘आवश्यकताअनुसार परीक्षण गर्दै लगिने छ । सीमाबाट हिँडेर आउनेलाई १४ दिन क्वारेनटिनमा राखिने छ र पिसिआर टेष्ट गरिने छ । हवाईजहाजबाट आउनेलाई पाँच दिन राखिने छ ।’ उनले बन्दाबन्दीबाट मुक्त भएकाहरू असावधान हुँदा जोखिम बढेको बताउँदै अब पहिले जस्तो सोलोडोलो बन्दाबन्दी नहुने स्पष्ट गरे ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनसंख्याको जाँच गरिने बताएका थिए ।

‘बन्दाबन्दीको मोडालिटीबारे सोचिने छ’, उनले भने । उनका अनुसार चाडपर्व मनाउने प्रोटोकलबारे मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । तराईका जिल्लामा कडाइका साथ व्यवस्थापन गरिने छ । आगामी भदौ १ गतेदेखि खुल्ने भनिएका हवाईजहाज, लामो दूरीका सवारी साधन र विद्यालयबारे पनि सोचिने बताउँदै उनले भारतको अवस्था हेरी हाम्रो अवस्था निर्धारण हुने सङ्केत गरे ।

उनले मन्त्रालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराए । मन्त्री ढकालका अनुसार कोरोनाबाट मृत्यु हुने प्रतिशत नेपालमा शून्य दशमलव २७ मात्र छ जुन विश्वका अन्य मुलुकका दरभन्दा कम छ । विश्व स्वास्थ्य सङ्गठन र केही मुलुकले नेपालमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापन राम्रो बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्