मोरङ, १९ साउन । मोरङको विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जनामा संक्रमण पुष्टि भएको हो । ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका प्रहरी संक्रमित भएका छन् ।
संक्रमितहरु विराटनगर महानगरपालिका वडा नं. ६ र ७ का हुन् । वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरूमा संक्रमण देखिएको छ । यस्तै वडा नम्बर–६ का २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एक जना पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।
यसैबिच मोरङ विराटनगरको न्यूरो अस्पतालले आकस्मिक र बहिरङ्ग सेवा बन्द गरेको छ । अस्पतालका एक जना डाक्टरमा कोरोनाको सङ्क्रमण देखिएपछि आकस्मिक सेवा बन्द गराइएकोमा आजदेखि आकस्मिक र बहिरङ्ग सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।
न्यूरो अस्पतालको कोभिड १९ व्यवस्थापन समितिको हिजो बसेको आकस्मिक बैठकले कोरोना भाइरस सङ्क्रमण थप फैलिन नदिन आकस्मिक र बहिरङ्ग सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।