पर्सामा थप ७३ जनामा कोरोना पुष्टि


पर्सा, १९ साउन । पछिल्लो २४ घण्टामा पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरूमा ६१ जना पुरुष र १२ जना महिला रहेका छन् । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिला समेत रहेका छन् ।

आइतबार राति संक्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा परेका रहेका छन् । मास ट्रेसिङमा पिसिआर जाँच गराएका २६ जना, एक घर एक परीक्षण जाँच गराएका ७ जना र कन्ट्रयाक्ट ट्रेसिङमा परेका २५ जना रहेको मेसु उपाध्यायले जानकारी दिएका छन् ।

यस्तै नेपाल प्रहरीका दुई जना, नेपाली सेनाका एक जना, पर्साका पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र एक भारतीय नागरिक रहेको मेसु उपाध्यायले जानकारी दिएका छन् ।

साउन ८ गते देखि १७ गते सम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएका छन् । पर्सामा कोरोना संक्रमितको संख्या ५८० जना पुगेको नारायणी अस्पतालका डा. सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्