साना किसान कृषि सहकारीको १२ औँ साधारण सभा सम्पन्न


अनिल बराल, बेलबारी । साना किसान कृषि सहकारी संस्था लिमिटेड बेलबारी–१, मोरङले आफ्नो १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

नेपाल तमु बुद्धिष्ट गुम्बा बेलबारीमा उक्त सहकारीले शनिवार वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष माधवप्रसाद ओझाको सभापतित्व र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ उपाध्यक्ष मदन कुमार दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल कृषि सहकारी सङ्घ प्रदेश नं १ अध्यक्ष खगेन्द्र राज भण्डारी, साना किसान विकास बैङ्क इटहरी प्रबन्धक सरोज भटराई रहेका थिए ।

कार्यक्रममा आ.व.२०७४÷०७५ को कार्यप्रगति तथा आ.व.२०७५÷०७६ को प्रस्तावित कार्य योजना अध्यक्ष ओझाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रगति प्रतिवेदन संस्था प्रबन्धक बाबुराम खड्काले प्रस्तुत गरेका थिए । त्यस्तै पशु धन संरक्षत समितिको तर्फबाट संयोजक गुणराज सुवेदीले, लेखा तथा सुपरिवेक्षणको प्रतिवेदन गोमा खुलालले प्रस्तुत गरेका थिइन । सहकारीले आ.व.२०७४÷०७५ मा १४ लाख १९ हजार ३ सय ६ रुपैयाँ खुद बचत गर्न सफल भएको छ ।

कार्यक्रममा उत्कृष्ट अन्तर समूह अन्तर्गत पहिलो, दोस्रो र तेस्रोलाई पुरस्कृत गरिएको थियो त्यस्तै उत्कृष्ट ऋणी कृषक १ जना र उत्कृष्ट व्यावसायिक खेती गर्ने १ जनालाई ५ कित्ता शेयर थप गरिएको थियो ।

संस्थालाई सहयोग गर्ने पूर्व सञ्चालक १ जना, इजरायबाट कृषि तालिम सकेर फर्केका २ जना र संस्थालाई वित्तीय सेवा प्रदान गर्ने साना किसान विकास लघुवित्त इटहरीलाई पनि सम्मान गरिएको थियो । वि.सं. २०६४ सालमा स्थापना भएको सहकारीमा अहिले जम्मा १५२ वटा समूह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्