बारा–पर्सामा दुई चिकित्सकसहित १५ जनाको कोरोना रिपोर्ट पोजेटिभ


बारा, १३ साउन । सरकारले लकडाउन अन्त्य भएको घोषणापछि मानिसको आवागमन बढ्न थालेसँगै सुरक्षित रूपमा बसेकाहरूमा समेत कोरोना भाइरस संक्रमण देखिन थालेको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । दुई चिकित्सकसहित अधिकांश संक्रमित वीरगञ्जका छन् । केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण पनि देखिएको छ ।

वीरगञ्ज–११ श्रीपुरका २६ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी आफ्नै बुवाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यस्तै श्रीपुरकै ४५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका दुवै जना शंकास्पद संक्रमितको रूपमा वीरगञ्जस्थित कोरोना अस्पतालमै थिए ।

वीरगञ्ज–४ बिर्ता बस्ने अर्का ४० वर्षीय चिकित्सकमा समेत कोरोना देखिएको नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले जानकारी दिएको छ । नारायणी अस्पतालमा कार्यरत उनलाई ५ दिनदेखि ज्वरो आइरहेको थियो । नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय अर्का कर्मचारीलाई पनि कोरोना देखिएको छ ।

आइसोलेसन बेडको अभावमा यसअघि नै पर्सामा ४२ जना संक्रमितलाई आइसोलेसनमा ल्याउन नसकेको अवस्था छ । उनीहरू घरमै आइसोलेटेड छन् तर होम आइसोलेसन सम्बन्धी कार्यविधि पालना भए–नभएको कहीँबाट अनुगमन भएको छैन ।

ज्वरो र खोकी लागेपछि शंका लागेर उनीहरूले पीसीआर परीक्षण गराएका थिए । पेड पीसीआर गराएका वीरगञ्ज–७ लोहरपट्टीका ५५ वर्षीया, वीरगञ्ज–१३ रानीघाटका ३४ वर्षीय, वीरगञ्ज–७ रामटोलका ३३ वर्षीय र वीरगञ्ज–१३ राधेमाईका २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको नारायणी ल्याब स्रोतले जनाएको छ ।

जगदम्बा इन्टर प्राइजेजमा कार्यरत ४८ वर्षीय, ५६ वर्षीय र २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गत साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयुमा कक्षमा छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका २३ वर्षीय र बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४१ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

भारतको बैंगलोरबाट आएका वीरगञ्ज–२३ सबैठवाका २६ वर्षीय पुरुष र इलाम घर भई पर्साको ठोरीस्थित सरस्वती मावि क्वारेनटिनमा बस्दै आएका ५६ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । उनी पनि भारतबाट आएका व्यक्ति हुन् ।

वीरगञ्जको कोरोना अस्पतालमा १० जना महिलासहित ५७ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये चार जना आईसीयुमा छन् । आइसोलेसन बेडको अभावमा यसअघि नै पर्सामा ४२ जना संक्रमितलाई आइसोलेसनमा ल्याउन नसकेको अवस्था छ । कतिपयलाई क्वारेनटिनमै छुट्टै राखिएको छ भने कतिपय घरमै आइसोलेटेड छन् । बारा र पर्सामा संक्रमितको संख्या बढेपछि व्यवस्थापनमा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्