विदेशमा कोरोनाबाट निधन हुने नेपालीको संख्या १६१ पुग्यो


काठमाडौं, ११ साउन । विश्वव्यापी कोरोना भाइरस महामारीबाट यो साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता युकेमा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १६१ नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कुल संक्रमितमध्ये २९ हजार २४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरू कोरोना संक्रमणमुक्त भएका छन् । अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।

संघका अनुसार नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०६ जना पुगेको छ । नेपालमा शनिवार साँझसम्म संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ ।

यसैबिच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ ।

३४ हजार ८३० जना नेपालीको उद्धार

यो सातासम्म ३४ हजार ८३० जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ वटा मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो । यद्यपि, साउन ८ गते बिहीबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगित गरेको छ । आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ ।

विदेशमा अझै ९४ वटा शव
मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरियालगायतका देशबाट यो सातासम्म २ सय १६ वटा शव नेपाल पुर्‍याई परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ७४ जनामध्ये १ सय ६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्