उद्योगका प्रकृति अनुसार प्रदेश १ सरकारले जनशक्ति उत्पादन गर्ने


नेत्र पी अधिकारी –

विराटनगर, ९ साउन । प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुसारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरूका लागि आवश्यक जनशक्ति तयार गर्ने तयारी सुरु गरेको हो ।

सामाजिक विकास मन्त्रालयको रोजगारी प्रवर्द्धन, सीप विकास कार्यक्रम अन्तर्गत सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ठुला उद्योगहरूसँग छलफल सुरु गरेको छ । उद्योगहरूको माग अनुसारको जनशक्ति तयार गर्नेगरि छलफल अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । बेरोजगारीलाई जागिर खोज्ने कामका लागि अहिले सम्म सरकारी स्तरबाट भएका तालिम खासै उपलब्धिपूर्ण नदेखिएकाले प्रयोगात्मक तालिममा जोड दिने निष्कर्षमा पुगिएको उनको भनाई छ । उनले भने,‘ हामीले दिएका प्राविधिक तालिम रोजगारदातासँग नमिल्दा उपयोगिता देखिएन ।’

मन्त्रालयले करोडौँ खर्च गरेर तालिम दिने गरे पनि बेरोजगारलाई रोजगारी दिलाउन नसकेपछि उद्योगको प्रकृति र माग अनुसारको सीप दिने तयारी गरिएको मन्त्री घिमिरेले बताए । मन्त्रालयले रोजगारदातासँगको छलफल पनि सुरु गरेको उनले बताए । पहिलो चरणको छलफलबाट करिब २ हजारलाई रोजगारी दिने लक्ष्य राखेर सीप विकास तालिम दिइने मन्त्री घिमिरेले बताए । उद्योगका लागि वार्षिक ५ हजार जनशक्ति आवश्यक पर्ने देखिएपनि कोरोनाका कारण उद्योगको उत्पादन घटेकाले २ हजारको लक्ष्य राखिएको उनले बताए । प्रदेश १ मा रहेका बेरोजगार जनशक्ति र कोरोनाका कारण विदेशबाट फर्किएकाहरूलाई लक्षित गरी सीप विकास तालिम दिइने मन्त्री घिमिरेले बताए । उनले भने,‘ अव तालिमपछि रोजगारी मिल्ने गरी काम गर्ने छौँ ।’

सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा अरिहन्त मल्टिफाईवर्स, रिलायन्स स्पीनिङ , पशुपति बिस्कुट र तालिम प्रदायक संस्था मनमोहन पोलिटेक्नीकवीच छलफल गरेको छ । रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलले मासिक औसतमा १ सय सम्म जनशक्ति उद्योगका लागि माग हुने गरेको बताए । लकडाउन अघि ४ हजार ३ सय हाराहारीमा कामदार रहे पनि अहिले केही घटेको उनले बताए । माग अनुसारको छाड्ने दर भएकाले मासिक सरदर एक सयको हाराहारीमा कामदार आवश्यक हुने उनले बताए । स्पीनिङको आवश्यकता अनुसारको जनशक्ति नपाएपछि मिलले नै तालिम दिएर राख्ने गरेको पोखरेलको भनाई छ । प्रदेश सरकारले मिलको माग अनुसारको जनशक्ति तयार गरे रोजगार दिन सकिने उनले बताए । उनले भने,‘ सीप अनुसारको जनशक्ति नहुँदा भारतबाट पनि ल्याउनु परेको छ ।’

अरिहन्तका नारायण लामिछानेले दीर्घकालीन योजना सहित मन्त्रालयले काम गर्न आवश्यक रहेको बताए । उद्योगमा आधारित कोर्स निर्माण गरी तालिम दिनु पर्ने उनले बताए । उद्योगको प्रकृति अनुसारको तालिम भए रोजगारी दिन समस्या नहुने उनको भनाई छ । लकडाउन अघि दैनिक २०–२५ को हाराहारीमा कामदारको आवश्यक पर्ने गरेको लामिछानेले बताए । उनले भने,‘ अहिले उत्पादन आधा घटेकाले भएकै कामदारबाट काम चलाईरेका छौँ ।’

मनमोहन पोलिटेक्निककी प्रकृति भट्टराईले अहिले चलन चल्तीमा रहेका ३ महिने तालिम उपलब्धि मूलक नभएको बताइन । उद्योगका प्रकृति अनुसार सिलेवस तयार गरिएको उनको भनाई छ । उद्योगको प्रकृति अनुसारको माग र आवश्यक तालिमको खाका ल्याउन उद्योगीहरूलाई भनिएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्