झापामा पहिरो र डुबेर १७ जनाको मृत्यु


झापा, ८ साउन । वर्षायाम सुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् ।

गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले ज्यान गुमाएका हुन् भने दुई बालक अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधवार मात्रै डुबेर एक बालकसहित तीन जनाको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको संख्या १७ पुगेको हो । बुधवार राति ८ बजे भद्रपुर नगरपालिका– २ निवासी अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश तामाङको डुबेर मृत्यु भएको थियो ।

दिउँसो घरबाट खेल्न निस्किएका उनी रातिसम्म घर नफर्किएपछि खोजीगर्ने क्रममा नयाँ सिमसार क्षेत्रमा राति डुबिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनीसँगै खेल्न गएका सोही ठाउँका कमला थामीका छोरा १४ वर्षका करण र उनका भाइ १२ वर्षका अर्जुन बेपत्ता भएका छन् । राति २ बजेसम्म खोजी गर्दा उनीहरू नभेटिएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ । आज बिहानदेखि पुनः उनीहरूको खोजी कार्य सुरु गरिएको जनाइएको छ ।

त्यस्तै बुधवार साँझ.५.३० बजे दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका– ५ बस्ने ४५ वर्षीय राम केरुङ मृत फेला परेका छन् । त्यस्तै साँझ ७ बजे झापा गाउँपालिका– ६ निवासी ६५ वर्षीय हरिमाया सार्की घरपूर्व रहेको बाँसघारीमा मृत फेला परेकी छन् ।

निगुरो टिपेर फर्कने क्रममा खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । त्यस्तै देउनीया खोलाले बगाएर भद्रपुर– २ का ५० वर्षीय कुमार गजमेरको मृत्यु भएको छ । उनलाई साउन ६ गते खोलाले बगाएको थियो ।

मेचीनगर– ९ का १५ वर्षीय विवेक दर्नाललाई वुद्धशान्ति गाउँपालिका ७ मोतिडाँडामा आफन्तको घरमा पाहुना आएका बेला घरमाथिबाट खसेको पहिरोले पुर्दा मृत्यु भएको हो । हिले खोलाले बगाउँदा अर्जुनधारा– ११ तीन पैनीकी ३ वर्षीय बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऋषि मुर्मू रहेकी छिन् । उनको साउन १ गते मृत्यु भएको हो । टाङटिङ खोला तर्ने क्रममा खोलाले बगाउँदा अर्जुनधारा– २ साकेलाका ६० वर्षीय फत्तेबहादुर बस्नेतको मृत्यु भएको हो । घर नजिकैको खहरे खोलाले बगाउँदा कचनकवल– ३ निवासी ३५ वर्षीय किलु टुडूको मृत्यु भएको छ ।

भद्रपुर– २ का ७ वर्षीय बालकको असार २८ गते सेफ्टी ट्याङ्कीमा डबेर मृत्यु भएको छ । त्यस्तै भद्रपुर– ३ का ३३ वर्षीय हिरण राईको मेची खोलामा डुहाउने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । उनलाई मेची खोलाले असार २७ गते बगाएको थियो ।

उनको शव कचनकवल ५ वागाडाँगी नजिकै खोला किनारमा असार ३० गते फेला परेको थियो । विरिङ खोलाले बगाउँदा झापा गाउँपालिका– ५ का २५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ । छिमेकीको मलामी गएको बेला खोलामा नुहाउन पसेका बेला उनलाई खोलाले बगाएको थियो ।

उता कमल गाउँपालिका– ५ टुक्रेका ३५ वर्षीय पुष्प राईको रतुव र चाजु खोलाको दोभानमा आएको बाढीले बगाएर मृत्यु भएको छ । घर नजिकै कुलोमा जमेको पानीमा डुबेर झापा गाउँपालिका –७ रमितेका ३६ वर्षीय नरबहादुर पुलामी मगरको मृत्यु भएको हो । उनको असार १५ गते मृत्यु भएको थियो ।

यता शिवसताक्षी नगरपालिका– ८ का ३ वर्षीय बालक कुमार विष्टको घर नजिकै कुलोमा डुबेर मृत्यु भएको हो । उनको असार १२ गते निधन भएको थियो भने बाह्रदशी गाउँपालिका–७ कञ्चनबारीका डेढ वर्षीय बालिका अनुषा टुडूको कुलोमा डुबेर मृत्यु भएको छ । उनको असार १० गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्