काठमाडौँ ६ साउन । कोभिड–१९ को कारण जारी लकडाउनलाई सरकारले अझै खुकुलो बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई थप खुकुलो बनाउने निर्णय गरेको हो ।
सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल (कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । आवश्यक तयारी गरेर उडान सुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।
यथास्थितिको लकडाउन साउन ७ गते सकिँदै छ । आगामी लकडाउनको नयाँ स्वरूप कस्तो हुन्छ भन्ने विस्तृत विवरण आएको छैन ।
सरकारले साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ । भने साउन १५ गतेबाट होटेल खोल्ने भएको छ ।
यस्तै सामाजिक दुरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै छोटो दुरीका अन्तर जिल्ला यात्रुवाहक बस सञ्चालन गर्न दिने भएको छ । सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो नियम उपत्यकाको हकमा भने लागू थिएन ।