बेलबारीको रमिते सामुदायिक उत्कृष्ट वनको रूपमा पुरस्कृत


केशु विरही – बेलबारी, मोरङ /  बेलबारी नगरपालिका वार्ड नं -२, लालभित्तीमा रहेको रमिते सामुदायिक वन वन विकास, संरक्षण र संवर्द्धन गर्दै सामाजिक उत्तरदायित्व, न्यायोचितढङ्गले वनपैदावर वितरण, रोजगारी तथा गरिबी निवारणजस्ता विषयमा गरिएको कार्यसम्पादन मूल्याङ्कनकाे आधारमा उत्कृष्ट सामुदायिक वनको रूपमा पुरस्कृत भएको छ ।

कार्यसम्पादन मूल्याङ्कनकाे आधारमा जिल्लाका १३३ वटा सामुदायिक वनहरूलाई पछि पार्दै रमिते सामुदायिक वन उत्कृष्ट वनको रूपमा पुरस्कृत भएको हो । आइतबार जिल्ला डिभिजन वन कार्यालय मोरङको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश नं १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीवकुमार राईले रमितेलाई उत्कृष्ट एकको पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

त्यस्तै हिमचुली सामुदायिक केराबारी दोस्रो र जनजागरण सामुदायिक, सुन्दरहरैंचा तेस्रो भएका छन् । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरे, सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझी, सब डिभिजन वन कार्यालय केराबारीका प्रमुख विक्रम आमात्य लगायतका विभिन्न सा व का पदाधिकारी तथा सामुदायिक वनकर्मीहरूको उपस्थिति रहेको थियो ।

यसले आफूहरूलाई उत्साहकारसाथ जिम्मेवारी पनि थपिएको महसुस भएकोले आफूहरू अब थप जिम्मेवार भएर अघि बढ्ने रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर राई बताउँछन् । सुरुङमार्ग सहितको रमिते भ्यूटावरकाे निर्माणमा लागिरहेको यो सामुदायिक वन गत वर्ष पनि उत्कृष्ट एककमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्