काठमाडौं, ४ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ६५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ७४१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
शुक्रवार थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ६९५ जना उपचारपछि निको भएका छन् । मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।
मन्त्रालयका अनुसार अहिले क्वारेनटाइनमा २२ हजार ६ सय ६२ रहेको छ । पाँच हजार आठ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । पाँच सय बढी संक्रमित भएका तीन जिल्ला छन् । मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सय बढी संक्रमित रहेका छन् ।
त्यसै गरी कोरोना संक्रमण शून्य हुने जिल्ला भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला र जुम्मा हुन् । विश्वको तथ्यांक हेर्दा एक करोड ४६ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ ।