मन्त्री घिमिरेद्वारा आफ्नो निर्वाचन क्षेत्रमा योजनाको साप्ताहिक अनुगमन


विराटनगर, ३ साउन । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रूपमा योजनाको अनुगमन अगाडी बढाउनु भएको छ । हरेक साताको शनिवार उहाँले मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भइरहेका, सम्पन्न भएका योजनाहरूको अनुगमन गरिरहनु भएको छ ।

मन्त्री घिमिरेले योजनासँगै स्थानीय बासीसँग छलफल पनि गर्ने गर्नुभएको छ । मन्त्री घिमिरेले योजनासँगै स्थानीयवासीको गुनासा, योजना निर्माणपछिका फाइदा, आगामी दिनमा गर्नुपर्ने कामका लागि सुझाव पनि लिने गर्नुभएको छ । मन्त्री घिमिरेले आज निर्वाचन क्षेत्र नं. ४ (ख) अन्तर्गतको विराटनगर–२ मा निर्माण भइरहेका र निर्माण सम्पन्न भएका योजनाहरूको अनुगमन गर्नुभएको छ ।

विराटनगर २ मा आर्थिक वर्ष २०७६/०७७ मा निर्वाचन क्षेत्रगत रूपमा १ करोड १८ लाखका योजना तथा कार्यक्रम समेटिएको थियो । विराटनगर २ को वडा कार्यालयबाट सोमबारे हाट जाने र मुनाल चौक पूर्वको नाला तथा ग्राभेलका लागि ५० लाख, विराटनगर हनुमान मन्दिर पार्क निर्माणका लागि १५ लाख, ओशो ध्यान केन्द्रदेखि उत्तर सुकुम्वासी टोलको सडक निर्माणका लागि १० लाख, सनातन धर्म सेवा समाज सोमबार सामुदायिक भवन निर्माणका लागि १० लाख, एप्लाईड कलेज जाने सडकको नाला निर्माणका लागि १० लाख, छठिमाता मन्दिरका लागि १० विनियोजन गरिएको थियो ।

सांसद विकास कोष मार्फत गत आर्थिक वर्षमा विराट सामुदायिक विकास केन्द्रका लागि ५० हजार, महेन्द्र रात्री माविमा खानेपानी निर्माणका लागि ५ लाख, शंकरपुर आधारभूत विद्यालयमा सूचना प्रविधि कार्यक्रमका लागि २ लाख ५० हजार विनियोजन गरिएको थियो । मन्त्री घिमिरेसँगै स्थानीयवासी उपभोक्ता समितिहरूले सडक, भवन लगायतका योजनाहरूको अनुगमन गर्नुभएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्