काठमाडौैं, ३१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद समाधानको निम्ति नेकपा अध्यक्षद्धय केपी शर्मा ओली, प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबिच छलफल सुरु भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्धय र वरिष्ठ नेताबिच छलफल सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
अध्यक्ष ओलीसँग वार्ताका लागि बालुवाटार जान अघि बिहीबार बिहान प्रचण्डले आफू निकट सचिवालय सदस्यहरूसँग आफ्नै निवासमा खुमलटारमा छलफल गरेका छन् । स्रोतका अनुसार अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्नका लागि प्रचण्डले आफू निकट सचिवालय सदस्यहरूसँग छलफल गरेका हुन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएको खुमलटार स्रोतले बतायो ।
नेकपामा विवाद उत्कर्षमा पुगेपछि जारी स्थायी कमिटी बैठक भोलि साउन २ गतेलाई सारिएको छ । भोलिको बैठक अघि निर्णायक छलफल गरेर टुङ्गोमा पुग्ने गरी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताले सक्रियता बढाएका छन् । आफू निकट स्थायी कमिटी सदस्यहरूले बैठकलाई सुचारु गर्न दबाब बढाएसँगै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता अध्यक्ष ओलीसँग निर्णायक छलफल गर्ने योजनामा रहेको एक सचिवालय सदस्यले बताए ।
बुधवार पनि प्रचण्ड र ओलीबिच साढे दुई घण्टा वार्ता भएको थियो । बुधवारको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ‘प्रचण्ड’लाई ‘अर्ली महाधिवेशन’बाट एकल अध्यक्ष बन्न प्रस्ताव राखेका थिए । अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्न नसक्ने भन्दै ‘अर्ली महाधिवेशन’बाट अध्यक्ष पद लिन भनेका हुन् ।
बुधवार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा भएको दुई अध्यक्षबिचको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि चहि अर्को निर्वाचन कुर्न भनेका थिए । अध्यक्षद्धयबीच बुधवार करिब साढे दुई घण्टा भएको छलफल भएको थियो । एक सचिवालय सदस्यका अनुसार बुधवारको छलफलमा पनि ओलीले तत्काल भने दुवै पद नछोड्ने प्रस्ट पारेका छन् ।
असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा तीव्र विवाद छ ।
विवाद जारी रहेपछि स्थायी कमिटी बैठक आगामी साउन २ गतेलाई सारिएको छ । स्थायी कमिटी बैठक अघि सहमतिको प्रयास जारी राखिएपनि ठोस सहमति भने भएको छैन ।