२ हजार ६ सय भिटिएम लायन्सद्धारा हस्तान्तरण


विराटनगर, ३१ असार । लायन्स क्लब डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भिटिएम किट हस्तान्तरण गरेको छ ।

शंकास्पद व्यक्तिहरूको कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘भाइरस ट्रान्सपोर्ट मेडियम’ (भिटिएम) सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई आज लायन्स क्लब डिष्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर राजन खत्री, पूर्व गर्भनरहरु भीम घिमिरे, लीला ढुंगेल, लायन्स क्लब डिष्ट्रिक ३२५ ए वानका फस्ट भाईस डिष्ट्रिक गभर्नर रेवत कार्की लगायतले भिटिएम किट हस्तान्तरण गर्नुभयो ।

लायन्स क्लबले कोसी अस्पताल विराटनगरलाई १ हजार ४ सय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ हजार ४ सय भिटिएम किट हस्तान्तरण गर्ने जनाएको छ । प्रदेश १ मा १० हजार डलर बराबरको किट हस्तान्तरण हुने लायन्स क्लब डिष्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर राजन खत्रीले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमति लिएर लायन्सले भिटिएम वितरण गरिरहेको उहाँले बताउनुभयो ।

किट ग्रहण गर्दै मन्त्री घिमिरेले मानवजाति कोरोनाको प्रकोपबाट प्रताडित भएको बताउनुभयो । कोरोनालाई मानवजातिले पराजित गर्ने निश्चित भएपनि केही समय लाग्ने उहाँले बताउनुभयो । भिटिएम किट उपलब्ध गराएकोमा लायन्स क्लबलाई उहाँले धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्