सप्तरी, ३० असार । भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज (मंगलबार) घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायव सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा पक्राउ गरिएको हो । ठाकुरलाई ट्रायल चेक गरी बढी जग्गाको श्रेस्ता कायम गरी दिने प्रयोजनका लागि घुस लिएको अभियोग लगाइएको छ ।
सेवाग्राहीबाट लिएको भनिएको रु १३ हजारसहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।