ईरानराईको व्यङ्ग्यनिबन्धसङ्ग्रह कट्टु सार्वजनिक


बेलबारी, २९ असार । साहित्यकार ईरानराईको व्यङ्ग्यनिबन्धसङ्ग्रह कट्टु सार्वजनिकीकरण गरिएको छ । सोमबार बेलबारी वाड नं. १ स्थित मदनमोहनआश्रितपुष्परत्न सांस्कृतिक भवनका कार्यक्रमको आयोजना गरी २०७ औँ भानु जयन्तीको अवसरमा कट्टु कृति सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, स्रष्टा समाज, नेपालका अध्यक्ष तथा पूर्व सांसद हर्कमान तामाङ, समाजसेवी तथा शिक्षक डि.पि राई, रमेश तामाङद्वारा व्यङ्ग्यनिबन्धसङ्ग्रह कट्टुलाई औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले लेखकलाई बधाई तथा शुभकामना प्रदान गर्दै साहित्य, कला, संस्कृतिको लागि बेलबारी प्रज्ञा प्रतिष्ठान निर्माण गर्ने जनाएका छन् । साहित्य क्षेत्रलाई मूर्त रूप दिँदै अगाडी बढाउन, बेलबारी प्रज्ञा प्रतिष्ठानलाई कार्यान्वयनमा ल्याउने सुवेदीले बताएका छन् । साहित्य क्षेत्रको एउटा मोडलको रूपमा बेलबारीलाई स्थापित गर्न समेत सुवेदीले साहित्यकारहरूलाई आग्रह गरेका छन् ।

स्रष्टा समाज, नेपालका अध्यक्ष तथा पूर्व सांसद हर्कमान तामाङले सङ्ग्रहमाथि टिप्पणी गर्दै कट्टु सार्वजनिकीकरणलाई साहित्य क्षेत्रकोलागि सुखद सन्दर्भ रहेको बताएका छन् । कट्टु नाम, झर्रोबादी आन्दोलनको विकासी रूप हो भन्दा फरक नपर्ने तामाङले बताए । कट्टुमा गहकिलो नयाँ शब्दहरूको समावेश गरिएको पाइएको समेत उनले बताएका छन् ।

लेखक ईरान राईले कट्टुमा १५ वटा व्यङ्ग्यनिबन्धको सङ्ग्रह गरेको जनाएका छन् । मनमा अडिने र पुरानो अवस्थामा धर्के कट्टु लगाइएको कुरालाई उजागर गर्ने प्रयासमा सङ्ग्रहको नाम कट्टु राखिएको राईले बताए । कट्टुले सरम छोप्ने भएकोले नाममा सकारात्मक प्रभाव रहेको राईले बताएका छन् । उनले भने,“कट्टु नाम अश्लील हो कि भन्ने आए पनि कट्टु सरमलाग्ने कुरा हैन सरम छोप्ने कुरा हो ।”

बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीले पनि लेखकलाई बधाई तथा शुभकामना प्रदान गरेकी छन् । लेखक ईरानराईको कट्टु भन्दा अघि १० वटा कृति प्रकाशित छन् भने ८ भन्दा बढी नाटकहरू मञ्चमा मञ्चित भइसकेको छ ।

नयाँ युगको खोजीमा (संयुक्त कवितासङ्ग्रह), सप्तकोशीको किनारबाट (संयुक्त गजलसङ्ग्रह), जिउँदो लास (हाइकसङ्ग्रह), झन्डाकविता (कवितासङ्ग्रह), सङ्कटकाल (हाइकुसङ्ग्रह), सुस्केरा (संयुक्त सहित्यसङ्ग्रह), दहीचिउरे (हाइकुसङ्ग्रह), छायाको चित्र (बेलबारीबारे प्रश्नोत्तरी पुस्तक), पुरानो काग (हाइकुसङ्ग्रह), लिम्पियाधुरा (हाइकुसङ्ग्रह) कृतिहरू प्रकाशित छन् ।

२०७ औँ भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको स्मरणमा साहित्यकार अमृत आर्चायले कविता वाचन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । छावा प्रकाशनको आयोजनामा भएको ईरानराईको व्यङ्ग्यनिबन्धसङ्ग्रह कट्टु सार्वजनिकीकरण कार्यक्रम प्रकाशक रेखा सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन भने संगितकर्मी जेवि थुलुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्