मोरङ, २८ असार । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले ९ महिनामा सुवर्ण फार्मासिटिकल औषधि कारखाना सञ्चालनमा आउने दाबी गरेका छन् । उनले भने ‘अब सुवर्ण फार्मासिटिकल औषधि कारखाना ९ महिनामा सञ्चालनमा आउँछ, योजना कार्यान्वयनको लागि सरकारले सहयोग गरे सञ्चालन हुन्छ ।’
सांसद राजकुमार ओझाको नेतृत्वमा मोरङको सुन्दरहरैंचा नरपालिका वडा नम्बर ११ स्थित बेलेपुरमा रहेको सुवर्ण फार्मासिटिकल औषधि कारखाना विषयमा ध्यानाकर्षण गराउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुगेका नेकपा टोलीलाई ९ महिना भित्र सञ्चालनमा आउने गरी काम भइरहेको उपकुलपति गिरीले बाएका हुन ।
विगतका पदाधिकारीहरूले ध्यान नदिएको कारण सुवर्ण फार्मासिटिकल औषधि कारखाना सञ्चालनमा आउन नसकेको उनको आरोप रहेको छ । तर अब कुनै कमजोरी नहुने पनि प्रतिबद्धता गरेका छन् ।
उक्त टोलीमा नेकपा मोरङ सचिवालय सदस्य एवम् सुन्दरहरैंचा नगरपालिकाका सहइन्चार्ज नवराज चापागाईँ, सुन्दरहरैचा नगर अध्यक्ष केदार गुरागाई लगायतको सहभागिता रहेको थियो । उक्त टोलीले औषधि कारखाना चाँडो सञ्चालनमा ल्याउन दबाब समेत दिएको छ । करोडौँको लगानीमा निर्माण भएर उद्घाटन समेत भएको औषधि कारखाना सञ्चालन नहुँदा त्यहाँ निर्माण भएका संरचना समेत जीर्ण बन्दै गएको अवस्थामा कोसी नेपालसहित अरू स्थानीय संचारमाध्यमहरुले निरन्तर रूपमा फलोअप गरेका थिए । स्थानीयबाट पनि औषधि कारखाना सञ्चालन हुनु पर्ने दबाब छ ।
२०५७ सालमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन प्रमुख शेखर कोइरालाले उद्घाटन गरेको २ सय ४० कोठाको भवन अहिले अलपत्र अवस्थामा छ । सुवर्ण फार्मासिटिकलले पेनसिलिन र ट्याब्लेट औषधी बनाउन भनेर अत्याधुनिक भवन बनाएको थियो । अहिले कुनै प्रयोजनबिना वर्षाैंदेखि अलपत्र अवस्थामा रहँदा कसैको यसप्रति ध्यान गएको देखिँदैन ।
हाल यो भवनको अवस्था देखेर स्थानीय जनता निराश हुँदै आएका जनतालाई यो औषधि कारखाना खुल्ने खबरले खुसी देखिएका छन् । यता प्रदेश सांसद ओझाले भने राज्यको यति धेरै लगानी रहेको औषधि कारखाना बन्द रहनु दुखद रहेको बताउँदै आफू जसरी पनि यो कारखाना सञ्चालन गराउने क्रममा रहेको बताए ।