एक साताको लागि नेकपाको स्थायी कमिटी बैठक स्थगित


काठमाडौं, २६ असार । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केही बेर अघि ट्विट गर्दै बैठक एक सातालाई स्थगित गरिएको जानकारी गराएका हुन् । देशमा भइरहेको भारी वर्षा र बाढी पहिरोको कारण बैठक स्थगित गर्नु परेको प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।

१० असारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक बैठक आज (शुक्रवार) का लागि सारिएको थियो ।

श्रेष्ठको ट्विटमा भनिएको छ, ‘देशभर भइरहेका अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरूमा जनधनको ठुलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी स्थायी कमिटीको बैठक सात दिन स्थगित ।’

प्रतिक्रिया दिनुहोस्