केशु विरही – बेलबारी, २६ असार । एक वडा एक उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बेलबारी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पनि कृषिलाई नै प्राथमिकतामा राखेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कुनै पनि व्यवसाय नभएका नगरवासीलाई कम्तीमा सय दिनको रोजगार प्रदान गर्नु पर्ने निर्देशिका अनुसार बेलबारी नगरपालिकाले काम गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम बेलबारीका संयोजक विनोद दाहाल बताउँछन् । संयोजक दाहालका अनुसार बेलबारी नगरपालिकामा यो आर्थिक वर्षका लागि २२ लाख रकम आएको छ ।
यो कार्यक्रम अन्तरगत केही वाडले भने वृक्षारोपण, ड्रेन निर्माण तथा विद्यालयको भवनको रङरोगन लाउने काम गरिरहेका छन् । बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गौतम गत वर्ष वार्ड कार्यालयको फूलबारी व्यवस्थापन तथा रमिते पर्यटकीय क्षेत्रको सरसफाइमा खर्च गरिएको तर उक्त काम प्रभावकारी नभएको भनेर आलोचना भएपछि यसपालि भने लोकतान्त्रिक मार्गमा ड्रेनख्न्ने काम गरिएको बताउँछन् ।
सामाजिक मन्त्रालय प्रदेश न १ बाट प्रविधि मैत्री व्यवस्थापनमा छनोटमा परेको कसेनी माविको खेलमैदान तथा रङरोगनमा काम गरिरहेको बेलबारी नगरपालिका वार्ड नं ४ वडाध्यक्ष रामकुमार राई बताउँछन् । साथै वडाध्यक्ष राई आफ्नो वडामा भने यो कार्यक्रम प्रभावकारी ढङ्गबाट चलिरहेको दाबी समेत गर्छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीहरू भने कार्यक्रमको उद्देश्य राम्रो भए पनि यसको अवधि बढाउनु पर्न बताउँछन् ।