बुढीगंगाका युवाहरू रगतको महत्त्व बुझाउँदै गाउँगाउँमा


विराटनगर, २५ असार। मोरङको बुढीगंगा गाउँपालिकाका युवाहरू सामाजिक काममा सक्रिय भएर लागेका छन् । विभिन्न सामाजिक काम गर्दै आएका युवाहरूले बिहीबारदेखि मानिसको जीवनसँग जोडिएको रक्त संकलन अभियान सुरु गरेका हुन् ।

सेवाको भावनाका साथ रक्त अभाव भएका बिरामीका लागि रक्तदाता जुटाउन पहिलो पटक मोरङको बुढीगंगा गाउँपालिकाबाट यो अभियान सुरु भएको हो । ग्रामीण क्षेत्रमा रगतको अभाव र त्यसको महत्त्वको बारेमा बुझाउन नसकिरहेको अवस्थामा बुढीगंगा १ मा रहेको सृजनशील युवा समाज नेपालले रगतको अभाव भएका बिरामीको लागि रक्तदाता जुटाउने काम गुरु गरेको संस्थाले जनाएको छ ।

युवाहरूको अभियानमा बुढीगंगा गाउँपालिकाले पनि सहयोग गर्ने छ । गाउँगाउँमा रक्तदान अभियान संचानल गरेर रगतको अभावलाई कम गर्ने काममा युवाहरूको लागि प्रचार प्रसारको अभियानलाई पालिकाले साथ दिने जनाएको हो ।

बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले युवाले सुरु गरेको जोडिएको जीवन जोगाउने काममा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सृजनशील युवा समाज नेपालका सल्लाहकार कपिल सुनारले बुढीगंगा गाउँपालिकामा नागरिकको जीवनसँग जोडिएको रगतको अभाव हुन नदिन सुरु भएको अभियान अत्यन्त नयाँ भएको बताउनुभयो । यो अभियानलाई हरेकको घर घरमा पुर्‍याउँदै रगतको अभाव हुन नदिनका लागि रक्तदान गर्नु पर्छ भन्ने भावनाको विकास गराइने सुनारले बताउनुभयो ।

युवाहरूद्वारा संकलित रगत टंकीस्थित विराट मेडिकल कलेज, टिचिङ हस्पिटलमा रहेको नेपाल रेडक्रस सोसाइटिको रक्तसञ्चार केन्द्रमा संकलन हुने सृजनशील युवा समाज नेपालका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।

एक दर्जन युवाहरूको सक्रिय सहभागिता रहेको यो अभियानमा साथ दिनकालागि ९८४९५८२७७९, ९८०७३४६६३६ मा सम्पर्क गर्न सकिने संस्थाका उपाध्यक्ष जोसेफ घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्