बेलबारीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु : ६ सय ५८ जनाले रोजगारी पाउँदै


बेलबारी, २२ असार । कृषिलाई प्राथमिकता दिँदै बेलबारी नगरपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ । एक वडा एक उत्पादन गरिरहेको नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समेत कृषिलाई प्राथमिकता दिएको हो ।

आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिकता दिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् । उनले भने, ‘पहिलो प्राथमिकता कृषि नै हो ।’

कृषकका खेतबारीमा सिचाईका लागि पैनी कुलो मर्मत देखी उत्पादन गरिएका बिरुवाहरूको गोडमेल तथा मलजल गर्ने काम भइरहेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा संयोजक विनोद दाहालले बताए । उनले भने, ‘बेलबारी ४ मा गत वर्ष यही कार्यक्रम मार्फत १० हजार भन्दा बढी सुपारीका बिरुवा रोपिएका थिए अहिले तिनै बिरुवाको गोडमेल तथा मलजल गरिरहेका छन् ।’

यस्तै केही वडाहरूमा भने ड्रेन निर्माण खानेपानी विस्तार तथा विद्यालय मर्मतको काम समेत गरिरहेको छन् । नगरपालिकामा ६ सय ५८ जनाले रोजगार पाउने संयोजक दाहालले बताए ।

न्यून आय भएकाहरूको छनोट गरी रोजगारी दिएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरी गरी खाने परिवारलाई यो कार्यक्रमले राहत समेत मिल्ने विश्वास गरिएको छ । काम गर्नेहरूलाई मास्क गोलोब्स तथा सेनिटाइजरको प्रयोग समेत अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्