विराटनगर, २० असार । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका योजनाहरूको आज अनुगमन गर्नु भएको छ । उहाँले योजनाको अनुगमन गर्दै जनताका समस्याबारे घरदैलोमा पुगी जानकारी समेत लिनु भएको छ । उहाँले आज निर्माण सम्पन्न भएका र निर्माणाधीन एक दर्जन बढी योजनाहरूको अनुगमन गर्नु भएको थियो । मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र मन्त्री घिमिरे मार्फत भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित बजेटबाट निर्माणाधीन र सम्पन्न भएका योजनाको अनुगमन गरिएको हो ।
क्षेत्र नं. ४ (ख) अन्तर्गत विराटनगरमा ८ का योजनाहरू आरके चिल्ड्रेन अगाडिको सडकका लागि ५२ लाख, जयनेपाल मार्ग कालिका मार्गका लागि २१ लाख ४० हजार, अशोक चोक खानेपानी आयोजनाका लागि १ करोड, समाता मार्गका लागि २० लाख, निर्मल जल मार्गका लागि १० लाख, छठिमाई मन्दिर विश्वकर्मा चोक बलुबाहीका लागि १० लाख, बलुवाही सामुदायिक भवनका लागि १० लाख, ज्ञानकुन्ज स्कुल बलुवाहीको शौचालय निर्माणका लागि ५ लाख, अमर सेवा समितिको सामुदायिक भवन निर्माणका लागि ४० लाख, महेन्द्र माविको खानेपानी निर्माणका लागि ५ लाख, बद्रीनारायण मार्ग ज्ञानबहादुर कार्कीको घर जाने सडकका लागि १० लाख, बालगोपाल टोल मिलन मार्गका लागि १० लाख र विराटेश्वर वृद्धाश्रमका लागि ४ लाख रुपैयाँ विनियोजन भएको छ ।
मन्त्री घिमिरेले विराटनगर ८ का योजनाका साथै स्थानीय बासीन्दाहरुसँग पनि योजनाका बारेमा छलफल गर्नु भएको छ । योजनाहरू निर्माण सुरु भएपछि विराटनगर ८ का स्थानीयबासीहरु खुसी भएका छन् । उनीहरूले मन्त्री घिमिरेलाई विराटनगर ८ का समस्याहरू बारेपनि जानकारी गराएका थिए । मन्त्री घिमिरेले विराटनगर ८ मा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको सुशील सहनीको घरको पनि अनुगमन गर्नु भएको उहाँको थियो ।