नहरमा हाम फालेर बेपत्ता भएका सेनाका जवानको शव भेटियो


कञ्चनपुर, २० असार । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रवार हाम फालेर बेपत्ता भएका २३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज (शनिवार) फेला पारेको छ ।

हामफालेको स्थानभन्दा झन्डै १२ मिटरको दुरीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले बताए । मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । चौधरीसँगै नहरमा हामफेकी– १९ वर्षीय रेनु चौधरीको भने स्थानीय बासिन्दाले शुक्रवार जीवितै उद्धार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार नहरमा प्रेमिकासँगै हाम फालेका रोकेशको २२ घण्टापछि शनिवार बिहान शव भेटिएको हो । प्रहरीको विपद् व्यवस्थापन र नेपाली सेनाको संयुक्त टोलीले हाम फालेको स्थानबाट केही तल युवकको शव फेला पारेको हो ।

प्रहरीका अनुसार नहरमा सँगै हाम फालेका युवा–युवती प्रेम सम्बन्धमा रहेका थिए । मृतक २३ वर्षीय राकेश चौधरी नेपाली सेनामा कार्यरत थिए । उनी बिदामा घर आएका थिए । युवती भने अध्ययनरत रहेकी थिइन् । उनीहरूबिच लामो समयदेखि प्रेम सम्बन्ध रहेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार युवतीले हामफालेपछि युवकले पनि नहरमा हाम फालेका थिए । प्रेममा केही खटपट आएपछि घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘लामो समयदेखि प्रेम सम्बन्धमा रहेछ, दुबैबिच केही खटपट परेकाले घटना घटेको प्रारम्भिक अनुसन्धानले देखाउँछ’, डिएसपी थापाले भने, ‘घटनाबारे थप अनुसन्धानबाट खुल्ला ।’ उनका अनुसार युवा युवतीको घर परिवार, जीवितै उद्धार गरिएकी युवती लगायतसँग सोधपुछ चलिरहेको छ ।

नहरमा हाम फालेको देखेपछि भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर ९भुन्टु० सहित स्थानीयको टोली उद्धारमा जुट्यो र युवतीको जीवितै उद्धार सफल पनि भएको थियो । घटना लगत्तै उद्धारमा जुटेका कारण युवतीलाई सकुशल उद्धार गर्न सफल भएको वडाध्यक्ष कुँवरले बताएका छन् । ‘युवतीलाई बचाउन सके पनि युवकलाई भने सकिएन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्