काठमाडौँ, १६ असार । एक जना व्यक्तिले भारतको हैदराबादमा आफ्नै परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् । उनले हतियार प्रहार गरी परिवारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा उनका दुई बहिनीको ज्यान गएको बताइएको छ ।
उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको हत्याको आरोप छ । श्रीमतीको हत्याको आरोपमा उनी पक्राउ पनि परेका थिए । पछि उनी धरौटीमा रिहा भएका थिए । त्यसपछि घरमै रहेका उनले सोमबार परिवारका सदस्यहरूको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती व्यक्तिले घरका चार जना सदस्यमाथि हतियार प्रहार गरेका र त्यस आक्रमणबाट उनका दुई जना बहिनीको ज्यान गएको बताएको छ । अहमद बिन सलाम बा इस्माइल नाम गरेका ती व्यक्तिले सोमबार साँझ परिवारका सदस्यमाथि धारिलो हतियारले हमला गरेका थिए ।
प्रहरीका अनुसार परिवारका तीन जनालाई घरमै हतियार प्रहार गरेपछि अर्की बहिनी बस्ने घरमा पुगेर उनलाई पनि आक्रमण गरेको बताएको छ । प्रहरीका अनुसार दुई बहिनीको ज्यान गएको छ भने परिवारका अरू सदस्यहरूको अवस्था गम्भीर रहेको छ ।
उनले सो हत्याको योजना के कति कारणले बनाएका हुन् भन्ने बारेमा भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । रासस–एएनआई