लगातार वर्षाले साँफे–मार्तडी सडकखण्ड पहिराको उच्च जोखिममा


बाजुरा, १३ असार । लगातार वर्षाका कारण साँफे–मार्तडी सडकखण्ड पहिराको उच्च जोखिम देखिएको छ । वर्षात सुरु भएसँगै ताँप्रीसेरादेखि मार्तडीसम्मका दर्जनौँ स्थानमा सडकको दायाँ–बायाँ पहिरो खस्न थालेको छ भने आवतजावत समेत रोकिने सम्भावना बढेको छ ।

अहिले केही दिनदेखि लगातार परेको वर्षात्का कारण दर्जनौँ स्थानमा माथिबाट पहिरो बग्न थालेको छ । द्वारी क्षेत्रमा तलबाट बूढीगङ्गा नदीको कटानसँगै अम्कोट गाउँतर्फ पहिरो बग्न थालेको छ ।

पानीनाउलामा लगातार माथिबाट पहिरोकै कारण सडक हिलाम्य बन्नाका साथै अवरुद्ध बन्न थालेको छ । हिलाम्य सडकमा सवारी साधन गुडाउन समस्यासँगै माथिबाट ढुंगा खस्ने समेत डर देखिएको ट्र्याकटर चालक डबल नाथले बताए ।

निर्माण भएको वर्षदेखि नै पहिराले सडकलाई क्षति पुर्‍याउने गरेको छ । भिरालो र पाखो जमिन भएकै कारण निर्माण सम्पन्न भएको पाँच वर्षसम्म नियमित पहिरो खस्ने र जोखिम हुने प्राविधिकले बताए पनि लगातार एकै स्थानमा पहिरो थपिँदै गएका कारण थप जटिलता भएको सरोकार भएकाहरूको भनाइ छ ।

अम्कोट, द्वारी र मलाती क्षेत्रमा सडक चल्ने निश्चित नै छैन । अहिले एकतर्फ मात्र सवारी साधन चल्ने गरी बाटो बाँकी रहेको छ ।

त्रिवेणी नगरपालिकाबाट पंैमाको पहिराले बूढीगङ्गा नदीलाई अम्कोट क्षेत्रतिर धकेलिरहेको छ भने नदीले सडकसँगै बस्ती समेत पहिरासँगै कटान गर्ने अवस्था नरोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण नदी दिनानुदिन दिन थुनिँदै गएको छ । त्यसले बाजुराको तल्लो क्षेत्रसँगै अछामका नदी किनारामा रहेका बस्तीलाई समेत समस्या सिर्जना गरेको छ ।

साँफे–मार्तडी सडकको वैकल्पिक बाटो नखोजिए सदरमुकाम मार्तडीसम्म पनि सवारी साधन सञ्चालनमा समस्या आउने देखिएको छ । द्वारी र बल्दे क्षेत्रको करिब एक किलोमिटर बाटो पुरै पहिरासँगै नदीमा मिसिने अवस्थामा आइपुगेको छ ।

अघिल्लो वर्षाद्मा नै सडक बगाएर क्षति पुगेपछि घरलाई नै भत्काई सडक बनाइएको थियो । हिउँदमा कुनै पहल नगरिँदा र वर्षात्मा मात्र विकल्प खोज्ने प्रवृत्तिले अमकोट बस्तीका सर्वसाधारणले यस वर्ष पनि निकै दुःख पाउने अमकोटका नवराज पाध्यायले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्