नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४१ औ वर्ष


भीमज्वाला राई – काठमाडौँ , ९ असार । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको आज मङ्गलवार ४१ औ स्थापना दिवस । स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम भइरहेको छ ।

धरानमा आज सङ्गठनको आयोजनामा रक्तदान कार्यक्रम तथा अति विपन्न यातायात मजदुरका ५० परिवारलाई राहत वितरण कार्यक्रम हुँदै छ । स्थापना दिवसको अवसर पारेर सङ्गठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राईले यातायात श्रमिकका बितेका ४१ वर्षहरू स्मरण गरेका छन् । प्रस्तुत छ ती स्मरण

१. यातायात श्रमिकहरू यति वेला गम्भीर सङ्कटको सामना गरिरहेका छन् । दैनिक चुल्हो बाल्न कठिन छ । जीवन चलाउन गाह्रो छ । भविष्य अन्योल छ । सारा नेपाली अप्ठ्यारोमा छन् । तर, दैनिक ज्यालाले परिवार चलाउने यातायात श्रमिकहरूको पीडा अरूको भन्दा फरक छ ।

कोभिड १९ को संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि नेपाल सरकारले २०७६ साल चैत्र ११ गते देखि आवागमनमा पूर्ण प्रतिबन्ध अर्थात् लकडाउन घोषणा गरेको छ । महिनौँदेखि सार्वजनिक सवारी साधनहरू चलेका छैनन् । अनिश्चित लकडाउनका कारण करिब ११ लाख यातायात मजदुर तथा आश्रित परिवार भोकको चपेटामा परेका छन् ।

२. यस्तो सङ्कटको समय हामी हाम्रो प्रिय सङ्गठन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४१ औँ स्थापना दिवस मनाइरहेका छौँ । यस अवसरमा सम्पूर्ण श्रमजीवीहरू प्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

३. पञ्चायती बुट र बन्दुकको छाया मुनी २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा यो सँगठन स्थापना गर्नुहुने ।

संस्थापक अध्यक्ष कमल बुढाथोकी, उपाध्यक्ष गेल्बु लामा, सचिव लेखनाथ पराजुली, सह सचिव ओमप्रकाश शर्मा, कोषाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, सदस्यहरुः छविलाल लम्साल, रमेश विष्ट, युगेश्वर साह, दुर्गा मानन्धर, गंगाराम शर्मा ढकाल, मदन किशोर शर्मा, दिनेश खड्का, सिंहबहादुर भुजेल, दुर्गा आचार्य, वीरेन्द्र प्रधानांङ्ग, नत्थुनी चौधरी लगायतका अग्रजहरूलाई हृदयदेखि सम्मान व्यक्त गर्दछु ।

४. विक्रम सम्मत १९७३ सालदेखि नेपालमा सवारी साधन भित्रिएको इतिहाससँगै १९९८ सालमा काठमाण्डौंमा नेपाली यातायात मजदुरहरूको इतिहासमा पहिलो पटक “चालक संघ” नामको सङ्गठन र उपत्यका बाहिर २००८ सालमा विराटनगरमा “मोरङ यातायात मजदुर युनियन” गठन गरी मजदुरहरूलाई संगठित हुन सिकाउने अगुवाहरूलाई स्मरण गर्दछु । राजनीतिक आरोह अवरोहका बिच २०३६ सालमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन स्थापना गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति श्रद्धा व्यक्त गर्दछु । दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

५. संगठन इतिहासको ४१ वर्षे यात्रामा हामीले दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेकाछौं । प्रथम र दोस्रो महाधिवेशनबाट निर्वाचित अध्यक्षहरूले तत्कालीन सरकारको आश्वासनमा परेर आन्दोलन र संगठनलाई नै धोका दिए पछि सुस्ताएको संगठनलाई २०४३ साल फागुन ३० गते पोखरामा भएको राष्ट्रिय भेलाबाट तेस्रो राष्ट्रिय अधिवेशन तयारी समितिको नेतृत्व गर्दै राजनैतिक प्रतिकुलताकाबीच संगठनलाई क्रियाशील बनाउनु भएकामा चूडामणि जँगलीलाई यो ऐतिहासिक अवसरमा सम्झिन चाहन्छु ।

२०४७ सालमा संगठनको तेस्रो महाधिवेशनबाट पुनः अध्यक्ष बनेर यातायात क्षेत्रलाई समेट्ने छुट्टै ऐन, नियुक्ति पत्र, कानुनी संरक्षण र सेवा सुविधा लगायत २४ सूत्रीय माग राखी चक्काजामको अगुवाइ गर्नु भएका जंगलीकै समयमा श्रम ऐन, सवारी तथा यातायात व्यवस्था ऐन जारी भएका हुन् ।

चौथौँ महाधिवेशनदेखि छैटौँ महाधिवेशन २०५१ सालदेखि २०६३ सालसम्म लगातार तिन कार्यकाल उद्धव केसीले यो संगठनको अध्यक्षको भूमिकामा अगुवाइ गर्नु भयो । २०५३ साल फागुन १५ गते चक्काजामकै बलबाट सवारी तथा यातायात व्यवस्था नियमावली लगायत नीतिगत काममा स्मरणयोग्य भूमिका निर्वाह गर्नुभयो । सडक दुर्घटना न्यूनीकरणका लागि देशव्यापी सडक कार्यक्रम, सरोकारवालाहरुसंग गोष्ठी तथा छलफल जस्ता रचनात्मक गतिविधि गरी संगठनको छविलाई उकास्ने काम गर्नुभयो, देशव्यापी रूपमा संगठनको आकार विस्तार गर्नुभयो ।

संगठनको इतिहासमा कुशल नेतृत्व गर्नुहुने पूर्व अध्यक्षहरू चुँडाचुँडी जँगली र उद्धव केसीलाई संगठनको तर्फबाट उच्च सम्मान गर्दै इँटवान् स्टारको उपाधिले विभूषित गरिएको छ ।

दश वर्षे जनयुद्धको समापन भए पनि युद्धका अवशेषहरू बाँकी नै रहेका बेला २०६३ सालमा सम्पन्न सातौँ महाधिवेशनबाट मोतीराज सुनुवार संगठनको अध्यक्ष बन्नु भएको थियो । समय चुनौतीपूर्ण भए पनि आम मजदुरहरूमा नयाँ उत्साह पलाउँदै थियो तर, वहाँले लामो समय नेतृत्व गर्नुभएन र त्यस संक्रमणकालिन अवस्थामा श्रीधरप्रसाद श्रेष्ठले कार्यवाहक अध्यक्षका रूपमा २०६६ सालसम्म नेतृत्व गर्नुभयो ।

आठौँ र नवौँ राष्ट्रिय महाधिवेशनबाट २०६६ देखि २०७४ सालसम्म राजीव घिमिरे संगठनको अध्यक्ष निर्वाचित हुनु भयो । कार्यथलोमा फरक बिचारका संगठनहरुबीच अस्वस्थ प्रतिस्पर्धा थियो । त्यस्तो समयमा पनि सँगठनको सदस्यता बिस्तार र नेतृत्व परिचालनले गति पायो । संगठन निर्माण दुर्गम कर्णालीसम्म पुग्न सफल भयो । ट्रेड युनियन शिक्षा मार्फत संगठनले देशव्यापी रूपमा गतिशीलता पाएको थियो ।

६. नयाँ संविधान अनुसार देशमा सात वटा प्रदेश बनिसकेको थियो । राज्यको पुनरसंरचना अनुसार कानुनहरू निर्माण भइरहेका थिए । तर, हाम्रो संगठन पुरानै शैलीमा चलिरहेको थियो । त्यही बेलामा हाम्रो संगठनलाई पुनर्संरचना गर्ने वैधानिक प्रस्ताव सहित २०७४ सालमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट हामीले कार्यभार सम्हालेका थियौँ । महाधिवेशनले पास गरेका कार्यभार सहित कठिन समयमा पनि हामीले ।

क. राज्यको संरचना अनुसार संगठनको पुरानो संरचनालाई भत्काएर सात वटा प्रदेशमा गठन गर्नु पर्ने कठिन काम गरिसकेका छौँ ।

ख. यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ ले उत्पन्न गरेका चुनौतीहरूको व्यवस्थापन गरी सँगठनलाई श्रमिक पक्षीय बनाउँदै, यातायात श्रमिकलाई सामाजिक सुरक्षामा जोड्ने प्रक्रियाको थालनी गरेकाछौं ।

ग. सवारी तथा यातायात व्यवस्था ऐन, फौजदारी अपराध संहिता एवं नयाँ ऐन कानुनहरूको निर्माण र संशोधनले उत्पन्न परिस्थितिको सामना गर्दै ऐन, कानुनहरूलाई श्रमिक पक्षीय बनाउने काममा संगठनलाई क्रियाशील बनाउँदै श्रमिकहरूको पेसागत हक, हित, अधिकारका लागि निरन्तर क्रियाशील रहेकाछौं ।

घ. यातायात श्रमिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य संस्था तथा अस्पतालहरूको सहयोगमा श्रमिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेकाछौं ।

ङ. सडक दुर्घटनाले जनधनको क्षति बढिरहेको सन्दर्भमा । सडक दुर्घटना न्यूनीकरणका लागि देशव्यापी सडक सुरक्षा अभियान सञ्चालन गरी यातायात श्रमिक तथा आम जनतामा अनुशिक्षण गरिरहेकाछौं ।

च. जहाँ यातायात श्रमिक त्यहाँ संगठन अभियान अन्तरगत बसपार्क आधारित सदस्यता विस्तार र नवीकरण अभियान सञ्चालन गरिरहेकाछौं ।

छ. अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटिएफ) सँगको सम्बन्धलाई बलियो बनाउँदै विश्व मञ्चमा नेपाली यातायात श्रमिकहरूका एजेन्डालाई स्थापित गर्ने कामलाई निरन्तरता दिईरहेकाछौं ।

ज. हाम्रो संगठन र अखिल नेपाल यातायात मजदुर संघबीच एकता प्रक्रिया सकारात्मक रूपमा अघिबढिरहेको छ । यो प्रक्रियासँगै देशमा शक्तिशाली संगठन निर्माण कार्य गरिरहेकाछौं ।

हामी मैदानमा छौं । हामी लक्ष्य सहितको यात्रामा छौँ । यो यात्रालाई सफल बनाउन तपाईँहरूको साथ र सहयोगको अपेक्षा गर्दछु ।

७. क. चालकलाई हतकडी लगाउने प्रथाको अन्त्य, स्वतन्त्र सँगठन बनाउने अधिकार लगायतका १३ सूत्रीय माग राखेर २०३६ सालमा ७ दिन चक्काजाम गर्दा पक्राउ परि ३६ दिन जेलजिवन बिताउनुहुने कमल बुढाथोकी, छविलाल लम्साल, रमेश विष्ट र चन्द्र बहादुर श्रेष्ठको साहस प्रेरणादायी छ ।

ख. २०४६ सालको जन आन्दोलनमा संगठनको योजनामा यातायात श्रमिकहरूले दस्ताबेजहरू ओसारपसार गरेर बाममोर्चालाई साथ दियो, नेपाल बन्द, हडताल, मशाल जुलुस र यातायात अवरोधमा मजदुर परिचालन गरेर भूमिका निर्वाह गर्‍यो ।

ग. आन्दोलनको बलमा, श्रम ऐन, सवारी तथा यातायात व्यवस्था ऐन, सवारी तथा यातायात व्यवस्था नियमावली निर्माणमा योगदान गरी यातायात क्षेत्रमा कानुन विहीनताको अवस्थाको अन्त्य गर्‍यो ।

घ. लाइसेन्स नवीकरण शुल्क वृद्धि, यातायात श्रमिकहरूमाथि प्रशासनिक हैरानी, विभिन्न नाममा हुने शोषण र सास्ती विरुद्ध तथा यातायात मजदुर प्रतिकूल नीति विरुद्ध संगठनले निरन्तर खबरदारी गरिरहेको छ ।

ङ. २०६२/०६३ को १९ दिने दोस्रो जन आन्दोलनमा यातायात मजदुर प्रद्युन्न खड्का लगायतले देशका लागि अमूल्य जीवन दिएका छन् । देशभर संगठनका हजारौँ नेता कार्यकर्ताहरू आन्दोलनमा सहभागी भए । सयौँ नेता कार्यकर्ताहरू पक्राउ परेका छन् घाइते भएका छन् ।

च. यही संघर्षको जगमा अनौपचारिक श्रमिकहरूलाई समेत समेट्ने गरी श्रम ऐन २०७४ जारी भएको छ, भर अभरमा भरथेग गर्ने सामाजिक सुरक्षा ऐन २०७४ जारी भइसकेको छ । यसकालाई कार्यान्वयन गर्ने अभिभारा हाम्रो काँधमा छ ।

८. बितेका तिन महिनादेखि सवारी साधनहरू ग्यारेज तथा घरमा थन्किएका छन् । यातायात मजदुरहरुको घरमा चुलो बाल्न हम्मे हम्मे छ । अर्थात् हामी क्रमशः भोकमरीको चपेटामा परिरहेकाछौं ।

मजदुरहरूलाई केही मात्रामा भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको तर्फबाट बांचौ र बचाऔँ अभियान सञ्चालन गर्दै खाद्यान्न सहयोग गरिरहेकाछौं ।

संगठनको आफ्नो श्रोत, साधनको अधिकतम उपयोग गर्दै श्रमिकलाई माया गर्ने संघ संस्था एवं व्यक्तिहरूको साथ र सहयोगबाट देश भरी करिब २० हजार मजदुर परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिसकेकाछौं । यस काममा अहोरात्र खट्नुहुने संगठन केन्द्रीय कमिटी, प्रदेश कमिटी, महानगर, उपमहानगर, नगर, इकाई तथा देशभरिका सम्पूर्ण कमिटीका नेता साथीहरूलाई संगठन केन्द्रीय कमिटीको तर्फबाट हार्दिक धन्यवाद दिन्छु ।

हाम्रो संगठनले मजदुरहरुको निवासमा पुगेर राहत सहयोग गरेको छ, संगठनको कार्यालयहरूमा बोलाएर मजदुरहरूलाई सहयोग गरेको छ ।

हामीलाई राम्ररी थाहा छ संगठनको सहयोग पर्याप्त होइन । अझै धेरै मजदुरहरुको आँसु पुछ्न सकेका छैनौँ । संगठनको सीमित श्रोत र साधनबाट सम्भव छैन तर, हामी तपाईँहरूलाई सहयोग गर्न निरन्तर प्रयास गरिरहने छौँ । मजदुरहरुको चुलो बाल्ने अभियानमा हामी निरन्तर लागिरहनेछौँ ।

९. करिब ८ खर्व निजी लगानी रहेको नेपालको अर्थतन्त्रको जग मानिएको यातायात क्षेत्र बैंक ऋणमा निर्भर छ । महामारीले मृत प्राय बनेको यो क्षेत्रलाई प्राण भर्ने योजना सरकारले ल्याउन सकेन भने ठुलो संख्यामा श्रमिकहरू बेरोजगार हुने अवस्था छ । तत्काल यातायात क्षेत्रलाई सहुलियत र अत्यावश्यक सेवा क्षेत्रको फ्रन्टलाईनमा काम गर्ने यातायात श्रमिकहरूलाई स्वास्थ्य, सुरक्षा र भविष्यप्रतिको सुनिश्चितता हुने योजना घोषणा गर्दै काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्दछु ।

१०. २०७६ साल असार ९ गते संगठनको ४० औँ स्थापना दिवसमा एकै दिन देश भर १ हजार १२ पिन्ट रक्तदान गरेका थियौँ, देशका ५२ सहरका बसपार्कहरू सरसफाइ गरेका थियौँ । एसइई तथा आठ कक्षा उत्तीर्ण मजदुरका छोराछोरीहरूलाई पुरस्कृत गरेका थियौँ, पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, जिफन्टका पूर्व अध्यक्ष मुकुन्द न्यौपानेबाट संगठनको जन्मदिनको केक काटेर स्थापना दिवसलाई रचनात्मक र भव्य बनाएका थियौँ ।

यस पटक महामारीले विश्वलाई अक्रान्त बनाएको समय हामी हाम्रो संगठनको स्थापना दिवस मनाईरहेकाछौं । प्रतिकूलताका बिच पनि देशका विभिन्न स्थानहरूमा रक्तदान गरेर, मजदुर परिवारलाई राहत वितरण गरेर साथै संगठन स्थापना स्थल पानीपिया तथा देशभरिका बसपार्कहरूमा दीप प्रज्वलन गरेर स्थापना दिवस मनाईरहेकाछौं ।

क. अबका हाम्रा कार्यभारहरू यातायात श्रमिकहरूको स्वास्थ्य र सुरक्षाका विषयमा गम्भीर हुँदै जनताको सेवामा क्रियाशील रहने सचेतना बारे कार्यथलो आधारित देशव्यापी अभिमुखीकरणमा केन्द्रित हुनेछ ।

ख. दसौँ राष्ट्रिय महाधिवेशनका बाँकी कार्यभार पुरा गर्दै, श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यान्वयनका विधि निर्माणका सन्दर्भमा केन्द्रित हुनेछ ।

ग. सडक सुरक्षा अभियान सञ्चालन गरी सडक दुर्घटना न्यूनीकरण हाम्रो शक्ति केन्द्रित हुनेछ ।

११. अन्त्यमा यातायात मजदुरहरू अभाव र संकटमा पनि नआत्तिने वर्ग हो । यो महामारीलाई हामी सबै मिलेर जित्नु छ । म सम्पूर्ण मजदुर साथीहरूलाई आग्रह गर्दछु धैर्य बनौँ । स्वास्थ्य र सुरक्षाका बारे सचेत रहौँ । खानपानलाई सन्तुलित बनाऔँ । परिवारलाई हेरचाह र माया गरौँ । सामाजिक दायित्व पुरा गरौँ । समय परिस्थिति अनुसार चलौँ । अनावश्यक हल्लाको पछि नलागौँ । देशभरिका श्रमजीवीहरू एकजुट बनौँ, भावी चुनौतीहरूको सामना गर्न सकौँ ४१ औँ स्थापना दिवसको हार्दिक शुभकामना ।

( नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष : भीमज्वाला राई )

प्रतिक्रिया दिनुहोस्