काठमाडौँ । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजिपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखका रूपमा कार्यरत थिए। २४ भदौमा उपत्यकामा भएको जेनजी आन्दोलनका क्रममा उनले सुरक्षाको कमाण्ड सम्हाल्दै शान्ति–सुरक्षाको स्थिति नियन्त्रणमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीअनुसार तोकिएको ३० वर्षे सेवा अवधिका कारण आगामी २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका छन्। खापुङको अवकाशअघि नै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण सुनिश्चित गर्न सरकारले कार्कीको नियुक्ति गरेको हो।
इमानदार, कार्यकुशल र अनुशासित अधिकारीका रूपमा परिचित कार्कीले नेपाल प्रहरीभित्रका महत्त्वपूर्ण जिम्मेवारीहरू सफलता साथ निर्वाह गर्दै आएका छन्। उनीले फिल्ड कमाण्डदेखि आइजिपी सचिवालयसम्मका विविध जिम्मेवारी सम्हाल्ने अनुभव प्राप्त गरेका छन्।
विदेशमा विभिन्न प्रहरी तालिम र प्रशासनिक दक्षता अभिवृद्धि कार्यक्रमहरूमा सहभागी भएका कार्की नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताका रूपमा समेत काम गरिसकेका छन्।


