इटहरीका व्यवसायी रमेश खत्रीले २ महिनाको घर भाडा छुट दिए


एलएन गच्छदार –
इटहरी, ६ असार । नेपाल सरकारले कोरोना भाइरसबाट बच्न गरेको लकडाउनको अवधिमा घर बहालमा बस्नेहरूको घर भाडा छुट दिन गरेको आग्रह अनुसार इटहरीका व्यवसायी रमेश खत्रीले आफ्नो घरमा भाडामा बस्नेहरूको २ महिनाको घर भाडा छुट गरिदिनु भएको छ ।

सार्वजनिक यातायात केन्द्रीय मह संघ प्रदेश १ का महासचिव तथा खाम्दाके यातायातका सञ्चालक रहनु भएका खत्रीले सरकारले १ महिनाको घर भाडा छुट दिन आग्रह गरेकोमा आफूले सरकारको आग्रहलाई सहर्ष स्वीकार गर्दै घर भाडामा बस्नेहरूको अवस्थालाई हेरेर थप १ महिना गरी २ महिनाको घर भाडा छुट गरी दिएको बताएका छन् ।

नेकपा इटहरी उपमहानगर कमिटी सदस्य र संयुक्त खस क्षेत्री नेपालको केन्द्रीय कोषाध्यक्ष समेत रहेका खत्रीले आफ्नो घरमा रहेका एउटा सटरसहित ५ वटा कोठाको चैत्र र वैशाख को गरी २ महिनाको घर भाडा छुट दिएको बताए । लकडाउनका कारण सबै जना मारमा परेको भए पनि घरधनीले घर बहालमा बस्नेहरूको अवस्था हेरेर घर बहाल छुट गर्नु पर्ने खत्रीले बताएका छन् ।

खत्रीले लकडाउनका कारण सबैभन्दा बढी मारमा यातायात व्यवसायी परेको र आफुपनि यातायात व्यवसायी भए पनि मानवीयताको नाताले सरकारको आग्रह स्वीकार गर्दै घर बहाल छुट दिएको जनाएका छन् । आफ्ना सवारी साधानहरु ३ महिनादेखि थन्क्याएर राखेकाले आफू नोक्सानीमा परेको भए पनि नेपाल सरकारको आग्रहलाई स्वीकार गर्दै आफूले छुट दिएको भन्दै खत्रीले अब यातायात व्यवसायीको समस्या समाधान गर्न नेपाल सरकारले पनि चासो दिनु पर्ने बताएका छन् ।

आफूले आफ्नो कर्तव्य पुरा गरेको भन्दै उनले अब यातायात व्यवसायी समेत ठुलो मारमा परेको अवस्था रहेकाले सरकारले यसतर्फ केही राहतका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् । यता खत्रीको घरमा व्यवसाय गरेर बसिहेरेका हिरालाल ऋषिदेवले लकडाउनका कारण आफ्नो पसल समेत राम्ररी नचलेर गुजारा गर्न समस्या परिरहेको बेला २ महिनाको घर भाडा छुट पाउँदा निकै राहत पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्