उपप्रमुख भन्छिन्,‘जनताको पसिना मिश्रित बजेट १ रुपैयाँ घोटाला हुन दिन्नँ’: जस्तापाता पातलो


बेलबारी, ३ असार । बेलबारी नगरपालिकाको जनता आवास कार्यक्रममा उपप्रमुख ढाका कुमारी पराजुलीले जनताको पसिना मिश्रित बजेट एक रुपैयाँ घोटाला हुन नदिने बताइकी छन् । जनता आवास कार्यक्रम विवादको चर्चामा आएसँगै पराजुलीले जनता आवास मात्र होइन नगरपालिकाले संचालन गर्ने सबै योजनामा घोटाला हुन नदिने बताएकी हुन ।

पराजुलीके हरेक योजनाको गुणस्तरीय परिणाम प्राप्त गर्न अनुगमनलाई कडाइ गर्ने बताउँदै विकास निर्माणका योजनालाई कमाउने माध्यम बनाउनेको भण्डाफोर गर्ने उनले बताइन । उनले भनिन, ‘म आफैँ यस्तो मान्यता राख्ने मान्छे हुँ कि, अनियमितता गरी कमाएको पैसा मार्फत मेरो घरमा एक मुठी चामल, एक पात साग समेत नभित्रियोस् भन्ने मान्यता राख्छु । त्यस कारण म भ्रष्टाचार र अनियमितताको सधैँ विरोधी हुँ । आजसम्म नगरपालिकाले आयोजना गरेका सम्पूर्ण योजना कार्यन्वयनमा भ्रष्टाचारको गन्धसम्म आउन दिएका छनौं।भोलिका दिनमा पनि दिने छैनौं।हाम्रो नगरपालिकाको विकास निर्माणका योजनाहरूलाई कमाउने भाँडो बनाएर कोही आउँछ भने त्यसको भण्डाफोर गर्छु ।’

तर बेलबारी वाड न.३ मा सोमबार भएको अनुगमनमा भने फेरी अर्को कमजोरी भेटिएको छ । यस भन्दा अगाडी गुणस्तरहीन बालुवा थियो भने अहिले सम्झौता अनुसारको जस्तापाता टिन प्रयोग भएको छैन । घरको छानोमा ०.४१ मी.मीको प्लेन जस्तापाता टिनको प्रयोग गर्ने भनिएकोमा ०.३२ मी.मीको प्रयोग गरिएको पाइएको छ । केही गुणस्तर हिन इँटा पनि भेटिएको पराजुलीले बताइन ।

उक्त टिन परिर्वतन गर्न र गुणस्तरहीन इँटा फिर्ता गर्न निर्देशन गरीसकेको पराजुलीले बताइन । अनुगमनपछि गुणस्तरहिन बालुवा पनि फिर्ता गराइसकेको उनले बताएकी छन् । अनुगमनलाई कडाइ गरेर कुनै पनि भ्रष्टाचार हुन नदिने पराजुली बताउछिन ।

उनले भनिन, ‘हामी अहिले जनता आवास मार्फत गरिब जनताको घर बनाउँदै छौँ । तपाईँ आफैँ भन्नोस्, यस्तो बेला गरिबलाई सहयोग गर्ने कि शोषण ? तसर्थ अनुगमन समिति कडाइका साथ प्रस्तुत हुन्छ । ढुक्क हुनुहोस्, जनता आवासमा भ्रष्टाचार हुन दिन्नँ ।’ अनुगमनका क्रममा केही कमीकमजोरी देखिए पनि अनुगमन समितिले अहिले सुधार्न निर्देशन दिइसकेको छ । घोटालाको विषय चर्चामा आए पनि पुष्टि भने अहिले सम्म भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्