नेपालसँग श्रीलङ्का पराजित


किशोर बुढाथोकी – आगरा (भारत) / भारतको आगरामा जारी एसियन स्कुल यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा श्रीलङ्का नेपालसँग पराजित भएको छ ।

               श्रीलङ्का विरुद्ध खेल्ने तयारीमा रहेका नेपाली खेलाडी

नेपालसँग १–० गोल अन्तरले पराजित भएपछि श्रीलङ्काको पाँचौँ हुने योजना पूरा हुन सकेन । जय गुरुङले गरेको एउटा मात्रै गोल नेपाललाई जितका लागि पर्याप्त बन्यो । प्रतिष्प्रर्धात्मक र सङ्घर्षपूर्ण खेलको ३८ औँ मिनेटमा दिनेश हेन्जनले मिलाइदिएको बललाई गुरुङले वान टच जाली चुमाउँदा नेपालले पाँचौँ स्थानका लागि स्थान सुरक्षित गर्न सक्यो । पहिलो हाफमा नेपाललाई दबाबमा राख्न खोजे पनि नेपालका रक्षापंत्तीका खेलाडी राजन गुरुङ, विकास खवास र संजित राईले शारीरिक रूपमा छिटो छरियो देखिएका श्रीलंकाली स्ट्राइकरलाई सफल हुन दिएनन् ।

१५ औँ मिनेटमा दिनेश हेन्जनको प्रहारमा श्रीलङ्काका गोलरक्षक गोलरक्षक रियास्खान बाधक बन्दा नेपालले सुरुवाती अग्रता लिन सकेन । ३० औँ मिनेटमा विकास खवासको फ्रिकिक प्रहार क्रस बारमा लागेर फर्किनु पनि दुर्भाग्यपूर्ण बन्यो । ४२ औँ मिनेटमा टिकाराज गुरुङ वान भर्सेस वानमा चुक्दा नेपालले दोस्रो गोल फर्काउन सकेन । अन्य तीन वटा सुन्दर अवसरको पनि सदुपयोग गर्न नसकेपछि स्ट्राइकर टिकाराजका ठाउँमा प्रशिक्षक पासाङ तामाङले ६५ औँ मिनेटमा रितिक खड्कालाई मैदान पठाए । ६८ औँ मिनेटमा खड्काको फस्ट टच प्रहार पनि क्रस बारमाथिबाट बाहिरियो । प्रशिक्षक तामाङले नेपालका तर्फबाट ७६ औँ मिनेटमा बुद्ध बल तामाङका ठाउँमा अनुप गुरुङ र ७७ औँ मिनेटमा संजित राईका ठाउँमा असीम गुरुङलाई मैदान पठाए पनि नेपालले गोल अन्तर भने बढाउन सकेन ।


समान खेलको ४० औँ मिनेटमा आरएम सहविरको सशक्त प्रहारलाई नेपालका गोलरक्षक सूर्य अधिकारीले उत्कृष्ट ढङ्गबाट बचाउँदै श्रीलङ्कालाई खेलमा फर्कन दिएनन् । सहविरकै अन्य दुईवटा सुन्दर प्रहारलाई पनि गोलरक्षक अधिकारीले रोकिदिँदा नेपालको जित पक्का भएको हो ।
नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले समूह चरणको चौथो म्याच खेलेको १५ घण्टा पनि नबित्दै खेलाडीले अर्को खेल खेल्नु पर्दा सोचे जस्तो प्रदर्शन गर्न नसकेको बताए । ‘आराम गर्न नपाईकन खेलाडी अर्को खेलका लागि मैदान जानु प¥यो,’ उनले भने, ‘लगातार म्याच खेल्नु पर्दा उनीहरूले शत प्रतिशत खेल्न सकेनन् ।’ उनले थकानका बिचमा पाँचौँ म्याच खेल्नु परेका कारण स्ट्राइकरले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा श्रीलंकासंग गोल अन्तर बढ्न नसकेको बताए । मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार रेफ्रीको गलत निर्णयका कारण इन्डोनेसियासँग खेलमा पराजित हुनु पर्दा नेपाल सेमिफाइनल खेल्नबाट वञ्चित हुनु प¥यो ।

सेमिफाइनल सम्म पुग्न नसकेको समूह ‘ए’ मा रहेको नेपालले अहिले पाँचौँ स्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ । शुक्रवारको खेलमा समूह ‘बी’ मा रहेको भारतलाई पराजित गरे मात्रै नेपालको पाँचौँ स्थान सुरक्षित हुने छ । बिहीबार नै भएको अर्को खेलमा चीनलाई १–० गोल अन्तरले पराजित गरेर पाँचौँ स्थानका लागि भारत नेपालको प्रतिस्पर्धी बनेको हो । समूह ‘ए’ मा रहेको चीनलाई नेपालले यस अघि ३–१ गोल अन्तरले पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको थाईल्याण्ड र इन्डोनेसियासँग हार बेहोरेपछि नेपालको सेमिफाइनल यात्रा टुगिंन पुगेको थियो । चीन र अफगानिस्तानलाई पराजित गर्न सकेकै कारण पाँचौँ स्थानका लागि प्रतिस्पर्धा गर्न पाइएको नेपालका टिम व्यवस्थापक रुपेश अधिकारीले बताए । उनका अनुसार बुधवारको खेलमा चीनले इन्डोनेसियालाई पराजित गर्न सकेको भए नेपाल सेमिफाइनल पुग्ने थियो । तर इन्डोनेसियाले चीनलाई २–० गोल अन्तरले पराजित गरेका कारण नतिजा ठिक उल्टो आइदिँदा नेपालले सेमिफाइनलका लागि चीनमाथि गरेको भरोसा पनि सकिएको थियो ।

शुक्रवार चीन र समूह ‘बी’ मा रहेको श्रीलङ्काले सातौँ र आठौँ स्थानका लागि प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा रहेको अफगानिस्तान र समूह ‘बी’ मा रहेको भुटानले भने प्रतियोगिता भरी नै एउटा पनि खेल जितेनन् । १० वटा देशको सहभागिता रहेको प्रतियोगितामा समूह ‘ए’ मा रहेका थाईल्याण्ड, इन्डोनेसिया र समूह ‘बी’ मा रहेका दक्षिण कोरिया र मलेसिया भने सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्