पोखरीमा डुबेर बेपता सुन्दरहरैचाका आकाशको शव भेटियो


सुन्दरहरैचा, १ असार । मोरङको सुन्दरहरैंचामा पोखरीमा डुबेर बेपत्ता भएका आकाश राईको शव भेटिएको छ । सुन्दरहरैंचा नगरपालिका स्थित वडा नम्बर १० मा रहेको बाघझोडा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका राईको शव सोमबार भेटिएको हो ।

२३ वर्षीय राई आइतबार फुटबल खेले पछि साँझ पोखरीमा पौडी खेल्ने क्रममा डुबेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले जनाएका छन् । स्थानीयले प्रहरीलाई खबर दिए पछि हिजोबाटै खोजीकार्य भएका थियो ।

आइतबार साँझ ढकालको नेतृत्वमा रातको १ बजे सम्म खोज्दा पनि शव नभेटिए पछि पुनः सोमबार बिहान ५ बजे देखी नै खोजी कार्य सुरु भएको थियो । स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बेलबारी, सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोस्ट सलकपुर र १ नम्बर प्रदेश प्रहरी कार्यालय बिपद व्यवस्थापन कार्यदल चन्द्रगढी झापाको संयुक्त टोलीले खोजी गर्दा राईको शव भेटिएको ढकालले जनाएका छन् ।

राईको शव पोखरीको मध्यभागमा घोप्टिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी निरीक्षक कमल अधिकारीले जनाएका छन् । पोखरी निर्माण गर्दा बढी खनिएको गहिरो भागमा राईको शव भेटिएको अधिकारीले बताए । स्थानीयको तथा घटनाको प्रकृति हेर्दा पौडी खेल्ने अवस्थामानै डुबेर निधन भएको देखिएको अधिकारीले जनाएको छ । पोस्टमार्टम लागि राईको शव उर्लाबारी स्थित मङ्गलबारे अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्