तिला लेकाली – ३२ जेठ ।
गजल
आज भन्दा भोलि झनै तिम्रो सुरुवाल झर्दै गयो
तिमी माथि नै थियो भरोसा झन् झन् तल सर्दै गयो
अपराधी लुकाएर भ्रष्टाचारको गोडमेल गर्दा
भरोसाको यो सरकारले गद्दारी झन् गर्दै गयो
यही थियो आशा अनि भरोसाको केन्द्र बिन्दु
रातमा दुई दिनामा चार विश्वास झन् मर्दै गयो
करोडको गाडी कहिले ,कहिले रातो कार्पेट
के भनौँ खै हामीलाई ,दिउँसै रात पर्दै गयो
कोरोनाले,खान नपाई जनता भोकै मर्या बेला
राहत भन्दै आएको पैसा कनिकाझैँ छर्दै गयो
विदेशमा रोग र भोकले जनता अलपत्र पर्दा
स्वदेश ल्याउने बहानामा आफ्नै भुँडी भर्दै गयो
खुले आम संसदहरु राष्ट्र विरोध गर्न थाले
कारबाही खै,तिम्रो सातो विदेशीले नै हर्दै गयो ?
(बेलबारी,मोरङ)