प्रदेश १ सरकारलाई फोनिजको आग्रह : पत्रकारको लागि रोजगार मूलक कार्यक्रम ल्याइयोस्


मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) १ नम्बर प्रदेश समितिले प्रदेश र स्थानीय सरकारलाई पत्रकारहरूको लागि लेखन वृत्ति, अनुसन्धान लगायतका रोजगार मूलक कार्यक्रम ल्याउन अनुरोध गरेको छ । प्रदेश र स्थानीय तहहरूमा आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउन लागेको बेला फोनिजले सो आग्रह गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लिम्बूलाई फोनिज पदाधिकारी सदस्यको टोलीले मन्त्रालय पुगेर सो आग्रह गरेको हो ।

कोरोना भाइरस (Covid-19) महामारीको कारण पत्रकारहरूको रोजगार गुम्दै गएको छ । मिडिया हाउस धारासायी हुँदै गएकाले दुवै तहका सरकारलाई आम पत्रकारहरूका लागि रोजगार मूलक कार्यक्रम ल्याउन आग्रह गरेको फोनिज प्रदेश १ समिति अध्यक्ष अर्जुन जम्नेली राईले बताए ।

कोरोना भाइरसको कारण भविष्यमा आउन सक्ने समस्यालाई ध्यान दिँदै सहुलियत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराइए पत्रकारहरूले पेसासँग मिल्नै वैकल्पिक व्यवसाय गर्न सक्ने फोनिज प्रदेशको सुझाव छ ।

फोनिज प्रदेश १ का अध्यक्ष अर्जुन जम्नेली राई, उपाध्यक्ष फिपराज बेघा लिम्बू, सदस्य प्रदीप चौधरी, बिना तामाङ, प्रेम देवान, सुनसरी जिल्ला अध्यक्ष धिरेन चौधरी, उपाध्यक्ष बिनय प्रधान, मोरङ जिल्ला सचिव अनिल श्रेष्ठको टोली टिममा रहेका थिए ।

टोलीले बिहीबार र शुक्रवार मोरङ विराटनगर महानगरपालिका प्रमुख पराजुली, सुनसरी धरान उप-महानगरपालिका प्रमुख तिलक राई, इटहरी उप-महानगरपालिका प्रमुख द्वारिकलाल चौधरी लगायतलाई भेटेर सुझावसँगै फोनिज प्रदेशले आफ्नो परियोजना प्रस्ताव समेत बुझाएको उपाध्यक्ष फिपराज लिम्बूले बताए ।

कोरोना भाइरस सङ्कटको कारण विभिन्न मिडिया हाउसहरूले पत्रकारलाई पारिश्रमिक रोक्ने, बेतलबी बिदा दिँदै आएको बेला फोनिज प्रदेश १ ले त्यसो नगर्न र दिँदै आएको सुविधा नरोक्न आग्रह गर्दै आएको छ । कोभिड महामारिको कारण लकडाउनसँगै बन्द भएको पत्रपत्रिकाको लोक कल्याणकारी विज्ञापनको रकम निकासा गर्न फोनिजले सरकारसँग माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्