एलएन गच्छदार – इटहरी, ३० जेठ । सरकार विरुद्ध देशभर युवाहरूले प्रदर्शनी गरिरहेको बेला सुनसरीको इटहरीमा पनि युवाहरूले शुक्रवार प्रदर्शनी गरेका छन् ।
कोरोना महामारी नियन्त्रणका नाममा सरकारले गरिरहेको लापरबाही र राज्य कोषको दुरुपयोग भएको भन्दै युवाहरू सरकार विरुद्ध सडकमा उत्रिएका हुन ।
युवा अभियन्ता विष्णु जङ्ग क्षेत्री, सरोज कटुवाल लगायतको अगुवाइमा इटहरीका युवा, युवती, सामाजिक अभियन्ताहरूले मुख्य चोक देखि इटहरी उपमहानगरपालिका गेट सम्म शुक्रवार बिहान ९ बजे सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले १० अर्व खोइ ? बाच्दासम्म हाहाकार मरेपछि पिसीआर, आरडीटी टेस्ट बन्द गर, सबै नागरिकको पिसीआर टेस्ट अनिवार्य गर, सरकार आत्महत्याको दर हेर इम्युनिटी पावर होइन , क्वारेनटाइन व्यवस्थित गर, जस्ता नारा भएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
पछिल्लो समय सरकारविरुद्धको आन्दोलनमा धेरैको सहभागिता बढ्न थालेपछि गृह मन्त्रालयले भने कारबाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट आह्वान गर्ने, जुलुस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस सहभागी हुने गरेको पाइएको बताएको छ ।
यो बन्दाबन्दीको आदेश विपरीत भएको भन्दै गृह मन्त्रालयले १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने जनाएको छ ।
https://youtu.be/dyp-7zIprbQ